जर्मन महारथी बायर्न म्युनिखले बुडेसलिगामा हैदेनहैममाथि जित निकालेको छ ।
सनिवार राति भएको खेलमा लिग लिडर बायर्न म्युनिखले तुलनात्मक रुपमा कमजोर प्रतिद्वन्दी हैदनहैममाथि ४-२ को फराकिलो जित निकालेको हो ।
म्युनिखको घरेलु मैदान एलियान्ज एरिना रंगशालामा भएको खेलमा घरेलु टोलीलाई जिताउन जमाल मुसियालाले दुई गोल गर्दा डायोट उपामेकानो र लियोन गोरेकाले एक-एक गोल थपे ।
भ्रमणकारी टोलीका लागि भने माथियास होन्साक र निक्लास डोर्श्वले गोल फर्काए ।
खेल सुरु भएको १८ औं मिनेटमा जोसुआ किम्मिचको पासमा उपामेकानोले गोल गर्दै घरेलु टोलीलाई सुरुवाती अग्रता दिलाए । त्यसपछि दोस्रो हाफको ५० औं मिनेटमा होन्साकले भ्रमणकारी टोलीका लागि गोल फर्काउँदा खेल १-१ को बराबरीमा आयो ।
त्यस्तै, ५६ औं मिनेटमा माइकल ओस्लेको पासमा मुसियालाले गोल गर्दा जर्मन महारथी क्लब २–१ ले अघि बढ्यो । यता, ८४ औं मिनेटमा लेरोय सानेको पासमा गोरेकाले म्युनिखका लागि गोल थप्दा खेल ३- १ को अवस्थामा अघि बढ्यो ।
त्यसको एक मिनेटपछि नै लियो सियन्जाको पासमा निक्लासले हैदेनहैमका लागि गोल फर्काउँदा खेल ३-२ को अवस्थामा आयो । खेलको इन्जुरी समयको पहिलो मिनेटमा राफायल गुरेरियोको पासमा मुसियालाले गोल गर्दा म्युनिख ४-२ ले जित्ने पक्का भयो ।
जितसंगै बुडेसलिगाको शीर्ष स्थानमा रहेको म्युनिखले १३ खेलबाट ३३ अंक जोडेको छ । पराजित हैदेनहैमको भने समान १३ खेलमा १० अंकसहित तालिकाको १६ औं स्थानमा रहेको छ ।
