इलाम | दोस्रो एनआरएनए इलाम गोल्ड कप को उपाधि न्यू रोड टिम (एनआरटी) ले जितेको छ ।
शनिबार इलाम सदरमुकाममा रहेको ठूलो टुंडिखेलमा भएको फाइनल खेलमा चर्च ब्वाइज युनाइटेडलाई ३-० गोल अन्तरले हराउँदै डिफेन्डिङ च्याम्पियन एनआरटीले दोस्रो पटक इलाम गोल्डकपको उपाधि जितेको हो ।
खेलको २४ औं मिनेटमा विदेशी खेलाडी नेयमारले पहिलो गोल गर्दै एनआरटीलाई अग्रता दिलाए । एक गोल अन्तरले पछि परेको चर्च ब्वाइज दोस्रो हाफमा लयमा फर्कने प्रयास गरेपनि सफल हुन सकेन् ।
दोस्रो हाफमा अञ्जन विष्टले क्रमशः ५१ र ६३ औं मिनेटमा गोल गर्दै एनआरटीलाई उपाधि दिलाउन सफल भए ।
एनआरटीले उपाधिसँगै नगद १० लाख सहित आकर्षक ट्रफी प्राप्त गर्यो भने उपबिजेता चर्च ब्वाइजले नगद ५ लाखमा चित्त बुझाएको छ ।
खेलको म्यान अफ द म्याच न्युरोडका शिशिर लेखि घोषित भए । उनले नगद ८ हजार १ सय सहित ट्रफी प्राप्त गरे ।
खेल अवधिभर ३ गोल गरेका एनआरटीका कप्तान अञ्जन विष्ट प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी र सर्वाधिक गोलकर्ता घोषित भए । उनले सर्वोत्कृष्ट खेलाडी चुनिए बापत नगद ३५ हजार र सर्वाधिक गोलकर्ता चुनिए बापत नगद ११ हजार ५ सय प्राप्त गरे ।
यस्तै एनआरटीका विकास सुनार उत्कृष्ट गोलरक्षक, एनआरटीकै आशीष गुरुङ उत्कृष्ट डिफेन्डर, चर्च ब्वाइजका भुवन कार्की उत्कृष्ट मिडफिल्डर, रेडहर्स इलामका अर्जुन गुरुङ उदीयमान खेलाडी र एनआरटीकै जीवनसिंह कमान उत्कृष्ट प्रशिक्षक चुनिए । उनीहरु सबैले जनही नगद ११ हजार ५ सय प्राप्त गरे ।
मंसिर २१ गते सुरु भएको इलाम गोल्डकपको दोस्रो संस्करणमा भारतको एकसहित नेपालका प्रतिष्ठित ८ टिम सहभागी थिए ।
