झापा कपको उपाधिका लागि आज चर्च ब्वाइज युनाइटेड र न्यु रोड टिम (एनआरटी) भिड्दैछन् । खेल दिउँसो २ बजेदेखि विर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा सुरु हुनेछ ।

चर्च ब्वाइज र एनआरटी १० दिनपछि पुनः उपाधिका लागि भिड्दैछन् । इलाम गोल्डकपपछि उनीहरु झापा कपको फाइनलमा खेल्दैछन् । इलाम गोल्डकपमा चर्च ब्वाइजलाई ३-० ले पराजित गर्दै एनआरटी च्याम्पियन बनेको थियो ।

झापा कपको पहिलो चरणमा गोर्खा ब्वाइज स्पोर्टस् क्लबलाई हराउँदै सेमिफाइनलमा स्थान बनाएको चर्च ब्वाइजले फाइनल प्रवेशका लागि सिरहाको सलहेश फुटबल क्लबलाई पराजित गरेको थियो ।

त्यस्तै, चित्लाङ फुटबल क्लबलाई रोक्दै अन्तिम चारमा प्रवेश गरेको एनआरटी इटहरीको राष्ट्रिय जागृतिलाई टाइब्रेकरमा पछि पार्दै फाइनल पुगेको हो ।

प्रतियोगितामा झापा–११ फुटबल क्लबसहित भारतको जिटिए दार्जिलिङ, गोर्खा ब्वाइज रुपन्देही, एलएक्स सिटी मोरङ, राष्ट्रिय जागृति क्लब इटहरी, सहलेश युथ क्लब सिरहा, त्रिभुवन आर्मी फुटबल क्लब, चर्च ब्वाइज युनाइटेड, एनआरटी क्लब काठमाडौँ र चित्लाङ एफसी काठमाडौँ सहभागी भएका थिए ।

प्रतियोगिताको विजेताले १० लाख तथा उपविजेताले ५ लाख रुपैयाँ पाउने छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *