एसी मिलानले युईएफए च्याम्पियन्स लिगमा क्रभेना ज्भेज्डामाथि कठिन जित निकालेको छ ।
बुधवार राति भएको खेलमा इटालियन क्लब एसी मिलानले सर्बियन क्लब क्रभेना ज्भेज्डामाथि २- १ को जित निकालेको हो ।
इटालियन क्लबको घरेलु मैदान स्टाडियो गिउसिप्पे मियाजा रंगशालामा भएको खेलमा घरेलु टोलीलाई जिताउन राफायल लियो र ट्यामी अब्राहमले गोल गरे । पराजित टोलीका लागि भने नेमान्जा राडोनजिकले एक गोल फर्काए ।
पहिलो हाफको ४२ औं मिनेटमा युस्सुफ फफानाको पासमा लियोले गोल गर्दै घरेलु टोलीलाई सुरुवाती अग्रता दिलाए ।
तर, दोस्रो हाफको ६७ औं मिनेटमा राडोनजिकले भ्रमणकारी टोलीका लागि गोल फर्काउँदा खेल १-१ को बराबरीमा आयो ।यता, खेलको अन्त्यतिर ८७ औं मिनेटमा अब्राहमले गोल गर्दा इटालियन क्लब २-१ ले विजयी भयो ।
जितसंगै एसी मिलानले ६ खेलबाट १२ अंक जोडेर युरोपेली शीर्ष प्रतियोगिताको लिग तालिकामा १२ औं स्थानमा उक्लिएको छ । पराजित क्रभेना ज्भेज्डा समान ६ खेलमा ३ अंकसहित तालिकाको ३१ औं स्थानमा रहेको छ ।
