बोर्डर-गावस्कर श्रृंखला अन्तर्गतको चौथो टेस्ट क्रिकेटमा घरेलु टोली अस्ट्रेलियाले भारतमाथि रोमाञ्चक जित हासिल गरेको छ । मेलबर्नमा सम्पन्न चौथो टेस्टको पाँचौं तथा अन्तिम दिन सोमबार अस्ट्रेलियाले भ्रमणकारी भारतलाई एक सय ८४ रनले हराएको हो ।
चौथो टेस्टमा जितसँगै पाँच खेलको सिरिजमा अस्ट्रेलियाले २-१ को अग्रता लिएको छ । यसअघि तेस्रो टेस्ट बराबरीमा सकिदा दोस्रो टेस्टमा अस्ट्रेलिया र पहिलो टेस्टमा भारत विजयी भएका थिए । अब आगामी शुक्रबारदेखि सिड्नीमा अन्तिम तथा निर्णायक टेस्ट हुनेछ ।
सोमबार चौथो टेस्टको पाँचौ दिन अस्ट्रेलियाले दिएको ३४० रनको लक्ष्य पछ्याएको भारत १५५ रनमै आउट भयो। अन्तिम शत्रमा ओपनर यशस्वी जैसवाल ८४ रनमा आउट भएपछि भारतले हार ब्यहोरेको हो । जैशवाल सातौं विकेटको रुपमा आउट भएपछि भारतले पछिल्ला तीन विकेट १० ओभरमभित्रमा १५ रन बनाउँद गुमाएको थियो। त्यसअघि कप्तान रोहित शर्मा (९ रन), केएल राहुल (०) र विराट कोहली (५ रन) सस्तैमा आउट हुँद अस्ट्रेलिया हामी देखिएको थियो ।
दोस्रो इनिङ्ग्समा बलिङमा अस्ट्रेलियाका कप्तान पाट कमिन्स र स्कट बोनाल्डले ३-३ विकेट लिए।
त्यसअघि अस्ट्रेलियाले दोस्रो इनिङ्ग्समा २३४ रन जोड्दा भारतले ३४० रनको लक्ष्य पाएको थियो । दोस्रो इनिङग्समा अस्ट्रेलियाका लागि नाथान लियोनले ४१ रन जोडे । दशौं विकेटका लागि लियोनले स्कट बोनाल्डसँग ६१ रनको साझेदारी गर्दा भारतले पाउने लक्ष्य बढेको थियो । चौथो दिनसम्म ४१ रनमा रहेका लियोनले पाँचौ दिन भने भारतका जसप्रित बुमराहबाट बोल्ड हुँदा कुनै रन जोड्न सकेनन् ।
त्यसअघि अस्ट्रेलियाका लागि मार्नस लबुसेन ७० रन र कप्तान पाट कमिन्सले ४१ रन जोड्दा अरू ब्याटर चल्न सकेनन् ।
दोस्रो इनिङग्समा भारतका लागि जसप्रित बुमराहले ५ विकेट लिए । यससँगै उनले टेस्ट क्रिकेटका २ सय विकेट पार गरेका थिए ।
पहिलो इनिङ्ग्समा अस्ट्रेलियाले ४७४ रन र भारतले ३६९ रन जोडेका थिए । पहिलो इनिङग्समा १०५ रनले पछि पर्दा भारतमाथि दबाब परेको थियो । पहिलो इनिङ्ग्समा अस्ट्रेलियाका लागि स्टिभ स्मिथले १४० रन जोड्दा भारतका नितिशकुमार रेड्डीले टेस्टमा पहिलो शतक प्रहार गर्ने क्रममा ११४ रन बनाएका थिए ।
