गुल्मी । गुल्मीको सदरमुकाम तम्घासमा क्रिकेट प्रतियोगिता हुने भएको छ । खुकुरी युथ क्लबको आयोजनामा चिदिचौर खेलमैदानमा प्रथम खुकुरी क्रिकेट कप-२०८१ हुन लागेको क्लबका सचिव निशान टण्डनले जानकारी दिनुभयो ।

क्लबका सचिव टण्डनका अनुसार क्लबको दोस्रो वार्षिकोत्सवको अवसरमा प्रथम खुकुरी क्रिकेट कप अन्तर्गत यही पुस १६ गतेदेखि २० गतेसम्म गुल्मी जिल्लाका माध्यमिक विद्यालयस्तरीय क्रिकेट प्रतियोगिता हुन लागेको हो । पाँच दिनसम्म चल्ने प्रतियोगिता १२ विद्यालयले सहभागिता जनाउने उहाँले बताउनुभयो ।

प्रतियोगितामा सिद्धबाबा माध्यमिक विद्यालय, महेन्द्र माध्यमिक विद्यालय, उपल्लो तम्घास माध्यमिक विद्यालय, जनसहयोग माध्यमिक विद्यालय, भगवती माध्यमिक विद्यालय, म्यालपोखरी माध्यमिक विद्यालय गौंडाकोट, नयाँगाउँ माध्यमिक विद्यालय, जनजागृति माध्यमिक विद्यालय हुँगा, आदर्श विद्या आश्रम, रिडर्स पब्लिक हाइस्कुल, ब्रिलियन्ट युनाइटेड एकेडेमी र लिटिल स्टार पब्लिक स्कुलले भाग लिएका छन् ।

खेल आइसिसीको नियम अनुसार हुनेछ । प्रतियोगितामा विजेताले २२ हजार २२२ रुपियाँ नगदसहित ट्रफी, पदक र प्रमाणपत्र प्राप्त गर्नेछन् । उपविजेताले ११ हजार १११ रुपियाँ नगदसहित ट्रफी, पदक र प्रमाणपत्र प्राप्त गर्ने आयोजकले जनाएको छ । क्रिकेट प्रतियोगिताको उद्घाटन रेसुङ्गा नगरपालिकाका नगरप्रमुख खिलध्वज पन्थीले गर्नुहुनेछ ।

Gorkhapatra Online

Leave a Reply

Your email address will not be published. Required fields are marked *