अखिल नेपाल फुटबल संघ (एन्फा) ले पहिरोमा ६ जना बच्चाको ज्यान गएपछि सिस्नेरी, मकवानपुरमा सञ्चालित एकेडेमीका खेलाडीहरूलाई हेटौंडा सारेको छ ।

‘उक्त दुर्घटनापछि बच्चाहरूमा मानसिक असर नपरोस् भनेर खेलाडीहरूलाई सिस्नेरीबाट हेटौंडा सारेका छौं,’ एन्फाका महासचिव किरण राईले भने, ‘एन्फाले सिस्नेरीमा छनोट गरी राखेका यु १४ का २२ जना खेलाडीको अब नियमित ट्रेनिङ, पढाईलगायतका सम्पूर्ण क्रियाकलाप हेटौंडामा हुनेछ ।’

एकेडेमीका बच्चाहरूको विद्यालय शिक्षा अध्ययनको लागि एन्फाले हेटौंडा एकेडेमीसँग सम्झौता पनि गर्यो । उक्त सम्झौतामा एन्फा महासचिव राई र हेटौंडा एकेडेमीका प्रमुख कार्यकारी अधिकृत रमेश रिमालले हस्ताक्षर गरे ।

इन्द्रसरोवर गाउँपालिका-३ स्थित सिस्नेरीमा रहँदा एकेडेमीका खेलाडीहरू वत्सला माध्यमिक विद्यालयमा अध्ययन गर्थे र त्यही नियमित फुटबल ट्रेनिङ गर्दै होस्टेलमा बस्थे ।

गत असोज १२ गते कुलेखानीको बाँध फुट्नसक्ने भन्दै होस्टेलबाट अन्यत्र सर्ने क्रममा पहिरो जाँदा हेटौंडाका अनुपम घलान, बाराका विकल रेग्मी, सिस्नेरीका दिवस बानियाँ, काठमाडौंका प्रियान्स आचार्य तथा सर्लाहीका आदित्य बलमपाकी र साइमन योन्जनको मृत्यु भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *