ताप्लेजुङको फुङलिङमा जारी दोस्रो चासोक तङनाम कञ्चनजंघा सेसेलुङ गोल्डकप अन्तर्राष्ट्रिय आमन्त्रण फुटबल प्रतियोगितामा रेड डेभिल्स मजोमाई, इलाम सेमिफाइनलमा प्रवेश गरेको छ ।
भानु माविको खेलमैदानमा आइतबार भएको खेलमा डाँगीहाट फुटबल क्लब, मोरङलाई टाइब्रेकरमा ४-२ ले हराउँदै मजोमाई इलाम सेमिफाइनलमा पुगेको हो ।

खेल निर्धारित समयमा गोलरहित बराबरीमा सकिएपछि खेलको छिनोफानो टाइब्रेकरमा गरिएको थियो ।

खेलको म्यान अफ दि म्याच मजोमाई इलामका गोलरक्षक सुजन लिम्बु घोषित भए । उनले नगद ५ हजार र ट्रफी हात पारे ।
सोमबारको तेस्रो क्वार्टरफाइनल खेल गोधुली फुटबल क्लब, धरान र कञ्चनजंंगा फुटबल क्लब, सिलिगुढीबीच हुनेछ ।
चासोक तङनाम संचालन समिति, ताप्लेजुङले आयोजना गरेको प्रतियोगिता मंसिर २२ गतेसम्म सञ्चालन हुनेछ । प्रतियोगितामा कुल ८ टिमको सहभागिता रहेको छ ।प्रतियोगिताको विजेताले नगद ३ लाख ५२ हजार ८१ रुपैयाँ र उपविजेताले १ लाख ५२ हजार ८१ रुपैयाँसहित ट्रफी, मेडल र प्रमाण-पत्र प्राप्त गर्नेछ ।
