घरेलु टोली न्युजिल्याण्डले श्रीलंकाविरुद्धको टि ट्वान्टी आई सिरिज एक खेल अगावै जितेको छ ।

न्युजिल्याण्डले सोमवार भएको दोस्रो टि ट्वान्टी आई ४५ रनले जितेको छ । पहिलो टि ट्वान्टी आईमा घरेलु टोली ८ रनले विजयी भएको थियो ।

१ सय ८७ रनको लक्ष्य पछ्याएको श्रीलंकाले १९.१ ओभरमा १ सय ४१ रन मात्र जोड्न सक्यो ।

श्रीलंकाका कुशल परेराले सर्वाधिक ४८ रन जोडे । परेराले ३५ बलमा ४ चौका र २ छक्का प्रहार गरे । ओपनर पथुम निशंका २८ बलमा ३ चौका र २ छक्काको सहयोगमा ३७ रनमा आउट भए ।

कप्तान चरिथ असलंका १६ बलमा २०, कुशल मेन्डिस १२ बलमा १० रन बनाउँदै आउट भए । एक समय १ सय २७ रनमा मात्र ३ विकेट गुमाएर बलियो अवस्थामा रहेको श्रीलंकाले बाँकी ७ विकेट १४ रन जोड्दा गुमायो । श्रीलंकाका ३ खेलाडीले रनको खाता खोल्न नसक्दा ७ खेलाडीले दोहोरो अंकमा रन जोड्न सकेनन् ।

न्युजिल्याण्डका जाकोब डफिले ४ ओभरमा १५ रन खर्चिएर ४ विकेट लिए । कप्तान मिचेल स्याट्नर र म्याट हेनरीले समान २ तथा जाक्रि फल्केस र माइकल ब्रेसवेलले समान १ विकेट लिए ।

त्यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको न्युजिल्यान्डले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १ सय ८६ रनको योगफल तयार गरेको थियो ।

न्युजिल्याण्डका लागि मार्क च्याम्पम्यानले ४२ रन जोडेका थिए । उनले २९ बलमा २ चौका र २ छक्का प्रहार गरे।

दोस्रो विकेटका लागि च्याम्पम्यान र टिम रोविन्सनले ६९ रनको साझेदारी गरे । रोविन्सनले ३४ बलमा ३ चौका र २ छक्काको सहयोगमा ४१ रन जोडे । मिचेल हे १९ बलमा ४ चौका र २ छक्कासहित ४१ रनमा नट आउट रहँदा ग्लेन फिलिप्स २३ रनमा आउट भए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *