अष्ट्रेलिया र भारतबीच मेलबर्न क्रिकेट ग्राउण्ड (एमसीजी) भएको चौथो टेष्टमा दर्शकहरुको उपस्थितिले नयाँ कीर्तिमान स्थापित गरेको छ । सोमबार सम्पन्न पाँचौं दिनको खेल हेर्न एमसीजीमा ५१ हजार ३७१ दर्शकहरुको उपस्थिति रहेको थियो।
चौथो टेष्ट हेर्न पाँच दिनसम्म कुल ३ लाख ५० हजार ७०० दशक एमसीजी क्रिकेट मैदानमा पुगेको क्रिकेट अष्ट्रेलियाले जानकारी गराएको छ । जसमा आज सोमबार सबैभन्दा बढी ५१ हजार ३७१ दर्शक एमसीजीमा आएको जनाएको छ ।
यस भन्दाअघि सन् १९३७ मा अष्ट्रेलिया र इङ्गल्याण्डबीच भएको एशेज सिरिजमा सर्वाधिक दर्शकहरु एमसीजीमा उपस्थित भएका थिए । एशेजको उक्त खेल हेर्न पाँच दिनसम्म ३ लाख ५० हजार ५३४ दर्शक एमसीजीमा उपस्थित भएका थिए । उक्त दिनको पाँचौं दिनमा ६० हजार दर्शकहरुले एमसीजीमा उपस्थित भएर कीर्तिमान बनाएका थिए ।
अष्ट्रेलिया र भारतबीच भएको चौथो टेष्ट हेर्न स्टेडियममा उपस्थित भएर क्रिकेट हेर्ने सवैभन्दा बढी दर्शकहरुमा यो टेष्ट दोश्रो नम्बरमा परेको छ । यसअघि सन् १९९९ मा कोलकोताको इडेन गार्डनमा भारत र पाकिस्तानबीचको टेष्ट कुल ४ लाख ६५ हजार दर्शकले स्टेडियममा उपस्थित भएर हेरेका थिए ।
