बागमती र लुम्बिनी प्रदेशले विराटनगरम जारी नरेश श्रेष्ठ स्मृति यु–१९ राष्ट्रिय क्रिकेट प्रतियोगितामा जीत हासिल गरेका छन् । 

प्रतियोगिताको चौथो खेलमा दोस्रो जित निकाल्ने क्रममा बागमतीले शनिवार कोशीलाई ७० रनले पराजित गरेको हो ।बागमतीले दिएको १८२ रनको लक्ष्य पछ्याएको कोशीले २९.५ ओभरमा सबै विकेट गुमाउँदै १११ रन मात्र बनाउन सक्यो ।

कोशीका लागि सोनु अन्सारीले सर्वाधिक ३० कृतिक कामत २६ र प्रतिक पोखरेलले २० रन बनाए भने अन्यले दोहोरो अंकमा रन जोड्न सकेनन् ।  यता बलिङतर्फ बागमतीका लागि दिपकले १० ओभरमा २० रन खर्चिएर ५ विकेट लिए। दयानन्द मण्डल र राजेश बोहराले समान २ तथा संगम सेढाईले १ विकेट लिए ।

त्यसअघि गिरिजाप्रसाद कोइराला क्रिकेट स्टेडियममा टस जितेर पहिले ब्याटिङ गरेको बागमतीले ४८.३ ओभरमा सबै विकेट गुमाएर १८१ रन बनाएको थियो । 

बागमतीका लागि ब्याटिङतर्फ कप्तान उत्तम थापा र सार्थक धितालले समान ३५ तथा अथर्भ पौडेलले २३ रन जोडे भने रोशन विश्वकर्माले २१ रन बनाए ।

जितसँगै जारी प्रतियोगितामा चार खेलमा चार अंकका जोडेको बागमती चौथो स्थानमा छ । यता, पाँच खेलमा दुई अंक जोडेको कोशी छैठौं स्थानमा छ ।

यस्तै, अर्को खेलमा गण्डकी प्रदेशलाई लुम्बिनीले पाँच विकेटले पराजित गर्दै जारी प्रतियोगितामा लगातार पाँचौँ जित हासिल गरेको छ ।

गण्डकीले दिएको ८७ रनको लक्ष्य लुम्बिनीले २२.४ ओभरमा पाँच विकेट गुमाउँदै पूरा गर्यो । जितसँगै १० अंक जोडेको लुम्बिनी शीर्ष स्थानमा छ भने पराजित गण्डकी चार अंकसहित चौथो स्थानमा छ ।

आगामी कात्तिक २१ सम्म चल्ने प्रतियोगितामा ७ प्रदेशको सहभागिता छ । सिङ्गल राउण्ड रोविनमा हुने प्रतियोगिताको शीर्ष २ टोली फाइनल खेल्नेछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *