नेपाल आर्मीका मुकेश पाल र काठमाडौंकी सन्तोषी श्रेष्ठ शनिबार गरिमा रोड रेसको उपाधि जितेका छन् । १० किलोमिटर दूरीको रेस अन्तर्गत पुरुषतर्फ पाल र महिलातर्फ श्रेष्ठ प्रथम भएका हुन् ।

गरिमा विकास बैंकले आफ्नो १८औं वार्षिकोत्सवका अवसरमा आयोजना गरेको प्रतियोगितामा पालले निर्धारित दूरी ३१ मिनेट ३६.२ सेकेन्डमा पूरा गरे । यस्तै सञ्जय श्रेष्ठले ३१ मिनेट ५८.३ सेकेन्डमा पूरा गरी दोश्रो तथा गजेन्द्र राईले ३२ मिनेट १४.६ सेकेन्डमा पूरा गरी तेश्रो भए । चौथो स्थानमा नरेन्द्रसिंह रावल तथा पाँचौं स्थानमा अजितकुमार यादव रहे । दोश्रोदेखि चौथो स्थान हासिल गर्ने खेलाडी आर्मीकै हुन् भने यादव नेपाल प्रहरीका हुन् ।

नेपालमा भएको १३औं दक्षिण एसियाली खेलकुद (साग) कि स्वर्ण विजेता एवं ओलम्पियन सन्तोषी श्रेष्ठले निर्धारित दूरी तय गर्न ३६ मिनेट ४३.३५ सेकेन्ड खर्चिइन् भने ३७ मिनेट ५४.१९ सेकेन्डमा दूरी पूरा गर्दै आर्मीकी पूर्णलक्ष्मी न्यौपाने दोश्रो भइन् । ३८ मिनेट ४३.८१ सेकेन्डमा दूरी पूरा गर्दै आर्मीकै सुनसरी रोकाया तेश्रो भइन् । एपीएफका आशा रावत र फुलमती राना क्रमशः चौथो र पाँचौं भए ।

कर्पोरेटतर्फ पुरुष पाँच किलोमिटर दूरीमा शेर्पालय ट्रेक्स एन्ड एक्सपिडिशन प्रालिका मिङ‌मारसिंह तामाङ प्रथम, राइजिङ एकेडेमी काठमाडौंका सुमन भण्डारी दोश्रो, एसियन लाइफ इन्स्योरेन्सका कृष्णराज रोकाया तेश्रो, ट्राभल एन्ड टुरिजमका विकेश घिमिरे चौथो र मडरल्यान्ड सेक्युरिटी प्रालिका विशाल भण्डारी तामाङले पाँचौं स्थानमा दौड टुंगाए ।

सोही विधा र दूरीको महिलातर्फ नाजारथ स्कूलकी रजिना दुलाल, सानिमा रिलायन्सकी स्वस्तिका कार्की र श्रीशा भण्डारी, महालक्ष्मी विकास बैंककी संगिता लामा तथा गरिमा विकास बैंककी निर्मला कुमालले क्रमशः पहिलोदेखि पाँचौं स्थान हात पारे ।

चारै विधामा शीर्ष पाँच स्थानमा रहनेले क्रमशः ७५ हजार, ६० हजार, ४५ हजार, ३० हजार र १५ हजारका दरले नगद पुरस्कार पाए । रेस लाजिम्पाटस्थित गरिमाको केन्द्रीय कार्यालयबाट शुरू भई पुनः त्यहीं आएर टुंगिएको थियो ।

विजेतालाई कीर्तिमानी धावक वैकुण्ठ मानन्धर, आयोजक गरिमाका अध्यक्ष श्यामप्रसाद बस्याल, गरिमाका प्रमुख कार्यकारी अधिकृत माधवप्रसाद उपाध्याय लगायतले एक कार्यक्रमका बीच पुरस्कृत गरे ।

सोही अवसरमा कात्तिक १४ गते भएको महिला साफ फुटबल च्याम्पियनशिपको फाइनलमा प्रत्येक गोल बापत टिमलाई एक लाख प्रदान गर्ने पूर्वघोषित पुरस्कार पनि गरिमाले प्रदान गरेको थियो । फाइनलमा बंगलादेशले नेपाललाई २–१ गोलले पराजित गर्दै उपाधि जितेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *