हङकङमा जारी द हङकङ सिक्सेज क्रिकेट प्रतियोगितामा नेपालले लगातार दोस्रो जित निकालेको छ । शनिबार बिहान भएको खेलमा नेपालले अष्ट्रेलियालाई ११ रनले पराजित गरेको हो ।

नेपालले दिएको ११२ रनको लक्ष्य पछ्याएको अष्ट्रेलियाले निर्धारित ओभरमा ४ विकेट गुमाउँदै १०० रनमा अलआउट भयो ।

अष्ट्रेलियाकालागि ज्याक वुडले नटआउट सर्वाधिक ५५ रन जोडे । एलेक्स रोसले १४ तथा डेन क्रिश्चियनले ९ रन बनाउँदा कप्तान सैम हेजलेटले १ रन बनाए । नेपालकालागि प्रतिश जीशीले सर्वाधिक ३ विकेट लिए । लोकश बम र बिबेक यादबले एक-एक विकेट लिए ।

त्यसअघि मिशन रोड मैदान, मोङ कोकमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित ६ ओभरमा २ विकेट गुमाउँदै १११ रन बनायो ।

नेपालकालागि कप्तान सन्दीप जोराले अर्धसतक प्रहार गर्दै रिटायर्ट आउट भए । उनले १६ बलमा ५ चौका र ६ छक्का प्रहार गरे । त्यस्तै लोकेश बमले ३३ तथा बिबेक यादब र राशिद खानले १२ रन जोडे । अस्ट्रेलियाका ज्याक हुडले २ विकेट लिए । 

खेलको प्लेयर अफ द म्याच नेपालका बलर प्रतीस जिशी घोषित भए ।

जितसँगै दुई खेलमा चार अंक जोडेको नेपाल समूह ‘बी’ को विजेता बन्दै क्वाटरफाइनलमा प्रवेश गरेको छ भने हारका बाबजुद अस्ट्रेलियाले पनि समूहले उपविजेताका रूपमा अन्तिम आठमा स्थान बनायो । पहिलो खेलमा दुवै टोलीले इङ्ल्यान्डलाई पराजित गरेका थिए ।

नेपालले शनिबार नै क्वाटरफाइनलमा श्रीलंकाको सामना गर्नेछ । खेल दिउँसो १:३५ बजे हुनेछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *