स्व. शंकर लाल राठी अन्तर विद्यालय टेबल टेनिस प्रतियोगीता-२०८१ सुरु भएको छ । विराटनगर टेबल टेनिस क्लबको आयोजनामा सोमबार देखि प्रतियोगिता शुरु भएको हो ।
उद्घाटन खेलमा जुनियर एकल छात्र र सब- जुनियर एकल छात्र तर्फका खेलहरू भएको छ । जुनियर छात्र एकल तर्फ एभरेष्ट स्कुलका सुशान्त मेहता, एभरेष्टकै सक्षम बस्नेत, लिलिपुट स्कुलका श्रीजल प्याकुरेल र बुढानिलकण्ठ स्कुलका रुपेश श्रेष्ठ सेमिफाइनल प्रवेश गरेका छन् ।
सब-जुनियर छात्र एकल तर्फ सेमिफाइनमा अरनिकोका आयुद्द भण्डारीले बुढानिलकण्ठका आयान श्रेष्ठलाई ३-१ को सेटले पराजित गर्दै फाइनल यात्रा सुरक्षित गरेको छ ।
त्यसैगरी अर्को सेमिफाइनलमा बुढानिलकण्ठका आदर्श राजवंशीले आफ्नै विद्यालयका प्रेमराज थापालाई ३-० को सोझो सेटमा पराजित गर्दै फाइनल पुगेको हो ।
प्रतियोगिताको उद्घाटन विराटनगर टेबल टेनिस क्लबका अध्यक्ष बिकेन थापाले गरे । विराटनगर महानगरपालिका प्रमुख नागेश कोइरालाको प्रमुख आतिथ्यता रहेको उद्घाटन समारोहमा राखेपका भूतपूर्व वरिष्ठ प्रशिक्षक ध्रुव क्षेत्री, अखिल नेपाल टेबल टेनिस संघका उपाध्यक्ष अनुज बाँनिया, नेपाल प्रेस युनियन कोशी प्रदेश अध्यक्ष मीन कुमार नवोदित श्रेष्ठ र स्व. शंकरलाल राठी का सुपुत्र प्रदिप कुमार राठीको उपस्थिती रहेको थियो ।
