नेपाली राष्ट्रिय भलिबल टिमका महत्त्वपूर्ण सदस्य लोकेन्द्र गिरी विदेसिएका छन् ।
विभागीय टिम सशस्त्र प्रहरी बलको एपीएफ क्लबबाट घरेलु प्रतियोगिता खेलिरहेका सेटर गिरी जापान पलायन भएका हुन् । नेपालमा भविष्य नदेखेपछि भलिबललाई नै बिट मार्दै राष्ट्रिय भलिबल टिमका पहिलो रोजाइका सेटर गिरी वैदेशिक रोजगारीका लागि जापान पुगेका हुन् ।
गिरी राष्ट्रिय टिमका पहिलो रोजाइको सेटर थिए । गिरीलाई कप्तान मानबहादुर श्रेष्ठले सन्यास लिएसँगै नेपाली राष्ट्रिय भलिबल टिम कप्तान बन्न सक्ने खेलाडीका रूपमा लिइएको थियो । राष्ट्रिय टिमका उत्कृष्ट सेटर गिरीलाई भविष्य भएका सेटरका रूपमा लिइथ्यो । त्यसैले पनि कप्तानमा उनी दाबेदार नै थिए । तर, गिरी अन्ततः भलिबल नै त्यागेर विदेसिएका छन् ।

यसअघि केही महिनाअघि एपीएफकै स्पाइकर टेकराज अवस्थी अस्ट्रेलिया र विजय थापा जापान पलायन भएका थिए । पछिल्लो समय भलिबल खेलाडीहरू विदेश पलायन हुने क्रम बढ्दो छ । यसै उदाहरण हुन्, गिरी, अवस्थी र थापा ।
सन् २०२३ मा कीर्तिस्थानमा भएको काभा पुरुष भलिबल नेसन्स लिगअन्तर्गत मंगोलियाविरुद्धको खेलमा गिरीले राष्ट्रिय टिममा डेब्यु गरेका थिए । राष्ट्रिय टिममा डेब्यु गर्दा गिरीले पहिलो सेटमा नेपाल १७-२२ ले पछि परेको स्थितिमा कप्तान हरि हजुर थापाको स्थान लिएका थिए । गिरीको डेब्यु खेलमा नेपाल मंगोलियासँग ३-१ को सेटमा पराजित भएको छ । त्यतिबेला नेपाल मंगोलियासँग १९-२५, २०-२५, २७-२५ र २०-२५ ले पराजित हुन पुगेको थियो ।
कञ्चनपुरको बेलडाँडीका गिरीले पहिलोपटक २०६२ सालमा महेन्द्रनगरको खुला मञ्चको कोर्टमा भएको जिल्लास्तरीय तत्कालीन वीरेन्द्र शिल्ड (हाल राष्ट्रपति रनिङ शिल्ड) प्रतियोगितामा आफ्नो विद्यालय रौलेश्वर माध्यमिक विद्यालय बेलडाँडीलाई उपाधि जिताएका थिए । त्यतिबेला रौलेश्वर माध्यमिक विद्यालयको टिम गिरीको कप्तानीमा मैदान उत्रिएको थियो । त्यसको केही वर्षपछि गिरी विभागीय टिम एपीएफमा आबद्ध भएका थिए ।
