यूएफा नेसन्स लिगमा फ्रान्सले इटालीमाथि ३-१ गोलको जित हात पारेको छ । जितसँगै फ्रान्स ग्रुप ए२ को विजेता बनेको छ ।

आइतबार राती भएको खेलमा इटालीले फ्रान्सको उत्कृष्ट प्रदर्शनलाई रोक्न सकेन । इटाली १-० गोलले मात्र पराजित भएको भए पनि समूह विजेता बन्ने थियो ।

यद्यपि यो खेलअघिनै दुवै टिम नक आउट खेल्नेबारे भने जानकार थिए । खेल सुरु भएको दोस्रो मिनेटमै एड्रियन राबियोटले हेडर गोल गर्दै फ्रान्सलाई अग्रता दिलाएका थिए ।

उनले लुकस डिनको कर्नरमा गोल गरेका हुन् । राबियोट र डिन दुवैको राष्ट्रिय टिमबाट यो ५० औं क्याप हो । १-० ले पछि परेको इटालीले ३३ औं मिनेटमा अर्को गल्ति गर्यो । फ्रान्सका डिनको फ्रि किक क्रसबार हुँदै इटालियन गोलकिपर गुलेल्मो भिकारियालाई लाग्दै गोल हुन पुग्यो।

३५ औं मिनेटमा आन्द्रेया काम्पियाजोले गोल गर्दै इटालीलाई खेलमा फर्काउने प्रयास गरेका थिए । तर ६५ औं मिनेटमा रोबियोटले पुनः हेडर गोल गरे र फ्रान्सले ६ खेलमा १३ अंक जोड्‌दै शीर्ष स्थान कब्जा गर्यो ।

राबियोटले पहिलो पटक राष्ट्रिय टिमका लागि एकै खेलमा दुई गोल गरेका हुन् । सन १९८३ मा स्विडेनसँग ३-० गोलले पराजित भएयता घरेलु मैदानमा इटालीको यो पहिलो फराकिलो हार हो ।

यसै समूहको अर्को खेलमा इजरायलले बेल्जियमलाई १-० गोलले स्तब्ध पार्यो । हंगेरीको बुडापेस्टमा भएको खेलमा इजरायलका लागि ८६औं मिनेटमा राष्ट्रिय टिमबाट डेब्यु गरेका यार्देन सुवाले निर्णायक गोल गरे । नेसन्स लिगमा पहिलो जित हात पारेको इजरायल रेलिगेशनबाट भने जोगिन सकेन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *