अन्तर्राष्ट्रिय आमन्त्रण तेस्रो पथरीशनिश्चरे गोल्डकपमा फुटबल प्रतियोगितामा पाहुना टोली भारतले विजयी सुरुआत गरेको छ ।

शनिबार भएको उद्घाटन खेलमा आयोजक पथरी-११ फुटबल क्लबलाई सडेन डेथमा ८–७ गोल अन्तरले पराजित गर्दै भारतको युनाइटेड कुर्सेङ फुटबल क्लब (युकेएफसी) ले विजयी यात्रा सुरु गरेको हो । 

निर्धारित ९० मिनेटमा दुवै टोलीले गोल गर्न सकेनन् । गोलरहित बराबरीपछि खेल टाइब्रेकरमा पुगेको थियो । त्यहाँ पनि दुवै टोलीले चार–चार गोल गरेपछि खेलको निर्णय सडन डेथबाट गरिएको थियो ।

पथरी ११ का सुवास तामाङ, धिरेन क्षेत्री, मन्जिल खड्का र सौरज राउतले टाइब्रेकरमा गोल गरे । युकेएफसीका वीरेन प्रधान, सिद्धान्त क्षेत्री, सिर्जल राई र सदिस राईले गोल गरे ।

सडन डेथमा युकेएफसीका आकाश प्रधान, नयन प्रधान, राजीव क्षेत्री र राज रोथले गोल गरे । पथरी ११ का निरज परियार, सञ्जय लिङ्देन र युकेश तामाङले गोल गरे । त्यसपछि आयोजकका मनिष लामाको प्रहार युकेएफसीका गोलरक्षक सचिन गुरुङले रोके । यही बचाउसँगै युकेएफसीको जित पक्का भयो ।

खेलको म्यान अफ दि म्याच युकेएफसीका गोलरक्षक सचिन गुरुङ घोषित भए । उनले नगद ७ हजार ५ सय रुपैयाँसहित ट्रफी प्राप्त गरे ।

उद्घाटन खेलमा विजयी भएको यूकेएफसी प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । पथरीशनिश्चरे नगरपालिका -१ स्थित पथरी रङ्गशालामा असोज २४ गतेसम्म सञ्चालन हुने खेलमा आठ वटा टिमको सहभागिता रहेको छ ।

आइतबार दोस्रो क्वाटरफाइनल खेलमा न्यु रोड टिम एनआरटी, काठमाडौं र सलहेस युवा क्लब, सिरहाबिच प्रतिस्पर्धा हुनेछ ।

पथरी-११ फुटबल क्लबको आयोजनामा सुरु भएको प्रतियोगिताको विजेता टोलीले ६ लाख रुपैयाँ नगद पुरस्कार प्राप्त गर्नेछ भने उपविजेताले ३ लाख रुपैयाँ पाउनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *