इन्टर मिलानले सिरी एमा हेलास भेरोनामाथि फराकिलो अन्तरको जित हासिल गरेको छ ।
सनिवार राति भएको खेलमा साविक विजेता इन्टर मिलानले तुलनात्मक रुपमा कमजोर प्रतिद्वन्दी हेलास भेरोनामाथि ५-० को फराकिलो जित हासिल गरेको हो ।
भेरोनाको घरेलु मैदान स्टाडियो मार्कान्टोनियो बेन्टेगोडी रंगशालमा भएको खेलमा इन्टरलाई एकतर्फी जित दिलाउन मार्कस थुरामले दुई गोल गर्दा जोआक्विन कोरेया, स्टेफान डि भिरिज र यान बिस्सेकले एक-एक गोल थपे ।
सबै गोल पहिलो हाफमा सम्भव भयो ।
खेलको १७ औं मिनेटमा थुरामको पासमा कोरेयाले गोल गर्दै भ्रमणकारी टोलीलाई सुरुवाती सगता दिलायो । त्यसपछि २२ औं मिनेटमा कोरेयाको पासमा थुरामले गोल गर्दा इन्टर २-० ले अघि बढ्यो ।
त्यसको तीन मिनेटपछि नै एलेस्सान्ड्रो बास्टोनीको पासमा थुरामले व्यक्तिगत रुपमा दोस्रो गोल थप्दा साविक विजेता टोली ३-० ले अघि बढ्यो । त्यस्तै, ३१ औं मिनेटमा क्रिस्टजान एसलानीको पासमा स्टेफानले गोल गर्दा इन्टर ४-० ले अघि बढ्यो ।
यता, ४१ औं मिनेटमा कोरेयाको पासमा बिस्सेकले गोल थप्दा इन्टर ५-० ले विजयी भयो ।
फराकिलो जितसंगै साविक विजेता टोलीले १३ खेलबाट २८ अंक जोडेर लिग तालिकाको दोस्रो स्थानमा उक्लेको छ । पराजित भेरोनाको भने समान १३ खेलमा १२ अंकसहित तालिकाको १४ औं स्थानमा रहेको छ ।
