यूईएफए नेसन्स लिग फुटबलमा साविक विजेता स्पेनले अपराजित यात्रा कायमै राखेको छ ।
सोमबार राति घरेलु मैदानमा भएको खेलमा स्विट्जरल्यान्डलाई ३-२ गोलअन्तरले हराउँदै युरो कप विजेतासमेत रहेको स्पेनले अपराजित यात्रा कायमै राखेको हो ।
खेलको ३२ औं मिनेटमा एरेमी पिनोको गोलमा स्पेनले अग्रता लिएको थियो । तर ६३ औं मिनेटमा स्विट्जरल्यान्ड खेलमा फर्कियो 1 जोल मोन्टेइरोले बराबरी गोल फर्काएका हुन् ।
तर ब्रायन गिलको गोलमा स्पेनले लगत्तै अग्रता लियो । उनले ६८ औं मिनेटमा गोल गरेका हुन् ।
स्विट्जरल्यान्डका अन्दी जेकिरी खेलको ८५ औं मिनेटमा पेनाल्टीमार्फत् गोल गरेपछि खेल फेरि रोमाञ्चक बराबरीमा परिणत भयो ।
तर खेलको अतिरिक्त समयमा ब्रायन जारागोजाले पेनाल्टीमार्फत् निर्णायक गोल गर्दै स्पेनलाई ३-२ को जित दिलाए ।
यसअघि नै क्वार्टरफाइनलमा प्रवेश गरेको स्पेनले यस जितसँगै लिगमा अपराजित यात्रा कायमै रहेको छ । लिग ‘ए’को समूह ४ को विजेता बनेको स्पेनले १६ अंक जोडेको छ । उसले ६ मध्ये ५ खेलमा जित र १ मा बराबरी खेलेको छ ।
यसै समूहमा ८ अंक जोडेको डेनमार्क उपविजेता बन्दै क्वार्टरफाइनलमा पुगेको छ ।
यस समूहबाट सर्बियाले रेलिगेसन प्ले अफ खेल्नेछ भने स्विट्जरल्यान्ड रेलिगेसनमा परेको छ
1
