पाकिस्तानमा जारी नेत्रहीन टी२० विश्वकपमा नेपालले लगातार दोस्रो जित हासिल गरेको छ । मंंगलबार भएको आफ्नो चौथो खेलमा नेपालले दक्षिण अफ्रिकालाई ११ रनले हराएको हो ।
नेपालले दिएको १९९ रनको लक्ष्य पछ्याएको दक्षिण अफ्रिकाले २० ओभरमा २ विकेट गुमाएर १८७ रन मात्र बनायो । उसका लागि बुले भिडलाले अविजित १०० रन बनाए ।
त्यसअघि पहिले ब्याटिङ गरेको नेपालले २० ओभरमा ४ विकेट गुमाएर १९८ रन बनाएको थियो ।
नेपालका लागि नरेशले सर्वाधिक ८० रन बनाएका थिए । ५७ बल खेलेका उनले चार चौका प्रहार गरे । त्यस्तै सागर लामा ४०, पदम बडैला ३४ र भरत थापा ११ रनमा आउट हुँदा सुनिल मगर एक रनमा अविजित रहे । दक्षिण अफ्रिकाका बुल्हे भिड्लाले १ विकेट लिए ।
दक्षिण अफ्रिकालाई हराएसँगै नेपालले सेमिफाइनलमा स्थान बनाउने सम्भावना बलियो बनेको छ । पहिलो र दोस्रो खेलमा पराजित भएको नेपालले सोमबार अफगानिस्तानलाई हराएको थियो ।
नेपालले अब घरेलु टोली पाकिस्तानसँग मात्रै खेल्न बाँकी छ । यही खेलले सेमिफाइनल समिकरणको टुंगो लाग्नेछ ।
