घरेलु टोली वेस्ट इण्डिजले इङग्ल्याण्डविरुद्धको चौथो टि ट्वान्टी आई खेलमा जित हासिल गरेको छ ।
घरेलु टोलीले आइतवार बिहान सकिएको खेल ५ विकेटले जितेको हो । खेल जितेपनि वेस्ट इण्डिजले सिरिज भने गुमाइसकेको छ ।
२ सय १९ रनको लक्ष्य वेस्ट इण्डिजले १९ ओभरमा ५ विकेट गुमाएर पूरा गर्यो। वेस्ट इण्डिजका इभेन लुईस तथा शाई होपले अर्धशतकीय इनिङ खेले ।
ओपनर लुईसले ३१ बलमा ४ चौका र ७ छक्काको सहयोगमा सर्वाधिक ६८ रन जोडे । पहिलो विकेटका लागि लुईस र अर्का ओपनर होपले १ सय ३६ रनको साझेदारी गरे। होपले २४ बलमा ७ चौका र ३ छक्काको सहयोगमा ५४ रन बनाए ।
कप्तान रोभमन पावलले २३ बलमा २ चौका र ३ छक्काको सहयोगमा ३८ तथा शरफन रादरफोर्डले १७ बलमा नट आउट २९ रन जोडे । इङ्ग्ल्याण्डका लागि रेहान अहमदले ३ तथा जोहन टर्नरले १ विकेट लिए ।
त्यसअघि ड्यारेन सामी नेशनल क्रिकेट स्टेडियममा टस हारेर ब्याटिङको निम्तो पाएको इङ्ल्यान्डले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर २ सय १८ रनको योगफल तयार गरेको थियो ।
जोकोब बेथहेल र फिल साल्डले अर्धशतकीय ईनिङ खेलेका थिए । बेथहेलले ३२ बलमा ४ चौका र ५ छक्काको सहयोगमा नट ओट ६२ रन जोडेका थिए । ओपनर साल्टले ३५ बलमा ५ चौका र ४ छक्काको सहयोगमा ५५ रन जोडेका थिए ।
कप्तान जस बटलरले २३ बलमा २ चौका र ३ छक्काको सहयोगमा ३८, साम करनले १३ बलमा २४ तथा विल ज्याक्सले १२ बलमा २५ रन जोडेका थिए ।
वेस्ट इण्डिज गुणकेश मोटीले २ तथा अकिल होसेन र रोस्टन चेसले समान १ विकेट लिएका थिए । दुई देशबीचको पाँचौं टि ट्वान्टी आई सोमवार हुनेछ ।
