काठमाडौं महानगरपालिकाले सानो गौचरन स्टेडियम पुननिर्माण थालनी गरेको छ । २२ करोड ९५ लाख ९३ हजार ९९९ लागत अनुमान गरिएको काम गर्न आव्हान गरिएको बोलपत्रबाट १८ करोड ८६ लाख ७४ हजार ८२७ रुपैयाँ कबोल गरेर शुभ कन्स्ट्रक्सनले पुनःनिर्माणको जिम्मेवारी पाएको छ ।

उपप्रमुख सुनिता डंगोलले शिलान्यास गरेर बिहीबाट पुनःनिर्माणको काम थालनी गरेकी हुन् । योसँगै महानगरपालिकाले खेल पूर्वाधारमा लगानी बढाएको उनले बताइन् । ‘सन्तुलित विकासका लागि भौतिक निर्माणसँगै आर्थिक र सामाजिक विकास सँगै लैजानुपर्छ । यस क्रममा खेलकुदलाई विकासको आयामसँगै अगाडि लैजाने कार्यक्रमअन्तर्गत स्टेडियम पुनःनिर्माण गर्न लागेका हौं,’ उनले भनिन् ।

स्टेडियमको ड्रइङ्, डिजाइन र लागत अनुमान सहरी योजना आयोगले तयार पारेको हो । यसलाई सार्वजनिक निर्माण विभागले कार्यान्वयनमा ल्याएको हो । स्टेडियममा ९६ बाइ ६२ मिटरको खेल मैदान हुनेछ । मैदानमा आकाशे पानी निकास प्रणालीसहितको कृतिम घाँस राखिनेछ । वरिपरि सिमा पर्खाल हुनेछ। यसमा २८ वटा चार पा‌ङ्ग्रे र १७८ वटा २ पा‌ङ्ग्रे सवारी साधन अट्ने क्षमताको पार्किङ हुनेछ । स्टेडियमको भुइँ तलामा महिलाका लागि २३ वटा र पुरुषका लागि १६ वटा शौचालय हुनेछन् । पहिलो तलामा ७ वटा महिलाका लागि र ५ वटा पुरुषका लागि शौचालय हुनेछन् ।

स्टेडियममा एउटा फिजियोथेरापी कक्ष, ३ वटा पुरुषका लागि ३ वटा महिलाका लागि गरेर ६ वटा कपडा फेर्ने कोठा, एउटा प्राथमिक उपचार कक्ष र २ वटा टिम लकर हुनेछन् । निर्माण कार्यको सार्वजनिक खरिदका लागि २०८१ वैशाख ३ गते सार्वजनिक सूचना जारी भएको थियो । यसबाट १६ जना आवेदकले प्रस्ताव पेश गरेका थिए ।

छनोट भएको निर्माण पक्षलाई कार्तिक २५ गते कार्यादेश दिइएको छ । यो काम २०८२ चैत मसान्तभित्र सम्पन्न गरिसक्नुपर्नेछ । रंगशाला १८ रोपनी १ आना २ पैसा ३ दान (९२११.५ वर्गमिटर) क्षेत्रफलमा निर्माण हुनेछ। यसमा दर्शक क्षमता १ हजार ५ सय जनाको हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *