नेपाल प्रिमियर लिग (एनपिएल) को फ्रेन्चाइज टोली पोखरा एभेन्जर्सका मुख्य प्रशिक्षक राजिव कुमार नेपाल आइपुगेका छन् ।
राजिव सोमबार राती पोखरा आइपुगेका हुन् । इन्डियन प्रिमियर लिगमा चेन्नई सुपर किङ्सको ब्याटिङ र फिल्डिङ प्रशिक्षण सम्हालिसकेका कुमार पहिलो पटक नेपालको फ्रेन्चाइज लिगको प्रशिक्षक बनेर नेपाल आइपुगेका हुन् ।
पोखराको सहायक प्रशिक्षकमा नेपालकै रिजन प्रजु छन् भने दक्षिण अफ्रिकी लेजेन्ड तथा फिल्डिङका बादशाह जोन्टी रोड्स मेन्टरको भूमिकामा छन् ।
पोखराको मार्की खेलाडीमा नेपाल राष्ट्रिय क्रिकेट टोलीका ब्याटर कुशल भुर्तेल छन् । पोखरा एभेन्जर्सले आफ्नो पहिलो खेल मंसिर १८ (डिसेम्बर ३) मा चितवन राइनोजसँग खेल्नेछ ।
नेपाल क्रिकेट संघ (क्यान) को आयोजनामा एनपिएल मंसिर १५ देखि पुस ६ गतेसम्म हुँदैछ ।
प्रतियोगितामा आठ फ्रेन्चाइज टोलीको सहभागिता रहनेछ । लिगमा पोखरासँगै जनकपुर बोल्ट्स, काठमाडौं गुर्खाज, चितवन राइनोज, सुदूरपश्चिम रोयल्स, विराटनगर किंग्स, कर्णाली याक्स र लुम्बिनी लयान्सले प्रतिस्पर्धा गर्नेछन् ।
