ताप्लेजुङको फुङलिङमा शनिबारदेखि शुरु भएको दोस्रो चासोक तङनाम कञ्चनजंघा सेसेलुङ गोल्डकप अन्तर्राष्ट्रिय आमन्त्रण फुटबल प्रतियोगिताको उद्घाटन खेलमा सम्दु फुटबल क्लब, तेह्रथुम विजयी भएको छ ।
चासोक तङनाम संचालन समिति, ताप्लेजुङले आयोजना गरेको प्रतियोगिताको पहिलो खेलमा सम्दुले घरेलु टोली कञ्चनजंघा फुङलिङ क्लब, ताप्लेजुङलाई सडन डेथमा हराउँदै विजयी शुरुवात गरेको हो ।

भानु माविको खेलमैदानमा भएको निर्धारित समयको खेलमा दुवै टिमबाट २-२ गोल भएपछी खेल टाइब्रेकरमा पुगेको थियो । निर्धारित समयको खेलतर्फ सम्दुका लागि दुवै गोल सन्दिप लिम्बुले गरे भने कञ्चनजंघाका लागि अनुप सन्दाङ र पवन नियोहाङले गरेका थिए ।
खेलमा सम्दुका लागि दुई गोल गरेका सन्दिप लिम्बु म्यान अफ दि म्याच घोषित भए । उनले नगद ५ हजार र ट्रफी हात पारे । जितसँगै सम्दु सेमिफाइनलमा प्रवेश गरेको छ ।

आइतबारको खेल डाँगीहाट फुटबल क्लब, मोरङ र रेड डेभिल्स मजोमाई, इलामबीच हुनेछ ।
त्यसअघि प्रतियोगिताको उद्घाटन कार्यक्रमका प्रमुख अतिथी कोशी प्रदेशका उद्योग, कृषि तथा सहकारी मन्त्री खगेन सिंह हाङनामले गरेका थिए ।
प्रतियोगितामा कुल ८ टिमको सहभागिता रहेको छ ।प्रतियोगिताको विजेताले उपाधिसहित नगद ३,०२,०८१ रुपैयाँ हात पार्नेछ भने उपविजेताले १,५०,०८१ रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । फाइनल खेल मंसिर २२ गते हुनेछ ।
