नेपाल क्रिकेट संघ (क्यान) ले आयोजना गर्न लागेको नेपाल प्रिमियर लिग (एनपीएल) को प्रत्यक्ष प्रसारणका लागि भारतीय च्यानल स्टार स्पोर्ट्सलाई ठूलो रकम तिरेर गरिएको सम्झौता विवादित बनेको छ ।

सञ्चार तथा विज्ञापन क्षेत्रका तीन संस्थाहरूले साझा विज्ञप्ति जारी गर्दै उक्त सम्झौताप्रति आपत्ति जनाएका छन् ।

नेपाल विज्ञापन संघ, राष्ट्रिय विज्ञापन संघ नेपाल र मिडिया अलाइन्सले विज्ञप्ति जारी गर्दै क्यानको यो कदम राष्ट्रिय हित विपरीत तथा अवैधानिक रहेको दाबी गरेका हुन् । एनपीएल आयोजना हुनु सुखद भएको र यसले देशको अर्थतन्त्रमा समेत सकारात्मक प्रभाव पार्ने विज्ञप्तिमा बताइएको छ । तर, यो प्रतियोगिताले नेपाल र नेपालीको हित एवं अधिकारको अवमूल्यन हुनु नहुनेमा विज्ञप्तिमा जोड दिइएको छ ।

नेपाल प्रिमियर लिगको आयोजनामा नेपाल क्रिकेट संघले केही अवैधानिक, गैरकानुनी र गैरव्यवसायिक तथा अनैतिक क्रियाकलापहरू जानाजान वा भुलवश हुन गएको विज्ञप्तिमा उल्लेख छ । बिना प्रतिस्पर्धा स्टार स्पोर्ट्स छनोट गरिनु गैरकानूनी भएको आरोप लगाइएको छ ।

यी तीन संस्थाले खेल देखाएबापत क्यानले उल्टै प्रतिखेल १० लाखमा दिने सम्झौता नेपालको कानुनले अनिवार्य गरेको सार्वजनिक खरिद ऐन र खेलकुद ऐनको धारा ४४ को बुँदा नं. २ विपरीत भएको ठहर गरेको छ।

उक्त बुँदामा कुनै पनि राष्ट्रिय वा अन्तर्राष्ट्रिय खेलकुद आयोजना गर्दा कुनै पनि अन्तर्राष्ट्रिय संस्थासँग सम्झौता गर्दा मन्त्रिपरिषद्को स्वीकृति अनिवार्य रहेको उल्लेख छ। तर, पूर्ण रूपमा यसलाई बेवास्ता गरिएको उनीहरूको आरोप छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *