इलाम | झापाको दूधे युथ क्लब माङसेबुङमा जारी १७औं संस्करणको आत्मानन्द गोल्डकप अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिताको फाइनल प्रवेश गरेको छ ।

माङसेबुङ गाउँपालिका–५ स्थित आत्मानन्द रंगशालामा बिहीबार भएको पहिलो सेमिफाइनलमा मोरङको सिरिजंघा स्पोर्टिङ क्लबलाई २-० गोलको रोमाञ्चक जित निकाल्दै दूधे उपाधिनजिक पुगेको हो ।

दूधेको जितमा राजेश दाहाल र प्रदीप बुढाथोकीले समान एक गोल गरे । पहिलो हाफ गोलरहित बराबरी खेलेको खेलमा दूधेको दुवै गोल दोस्रो हाफमा सम्भव भएको थियो ।

खेलको ४३औं मिनेटमा दूधेले राजेश दाहालको गोलमा अग्रता बनायो । त्यसपछि खेलको ५७औं मिनेटमा प्रदीप बुढाथोकीले गोल गर्दै २-० को जित दिलाए ।

खेलको म्यान अफ दी म्याच दूधेकै निकेश श्रेष्ठ घोषित भए । उनले ट्रफी, मेडल र नगद ५ हजार ७१ रुपैयाँ हात पारे ।

शुक्रबार हुने दोस्रो सेमिफाइनल खेल दमक भाङबारी स्पोर्टिङ युथ क्लब, झापा र तिजोक युवा क्लब, पाँचथरबीच हुनेछ ।

प्रतियोगिताको विजेताले ट्रफीसहित नगद ३ लाख ११ हजार १ सय ७१ रुपैयाँ, मेडल र प्रमाणपत्र पाउने छ भने उपविजेताले ट्रफीसहित नगद २ लाख ५ हजार १ सय ७१ रुपैयाँ, मेडल र प्रमाणपत्र पाउने छ । फाइनल खेल मंसिर १७ मा हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *