इंग्ल्याण्डले यूईएफए नेशन्स लिगको लिग बी समूह २ मा फिनल्यान्डलाई ३-१ ले पराजित गर्दै राष्ट्रिय टोलीको नयाँ कीर्तिमान बनाएको छ । आइतबार राति भएको खेलमा इंग्ल्याण्डले जित हात पार्दै लगातार १३ खेलमा फिनल्यान्डविरुद्ध अपराजित रहँदै इतिहास रचेको हो ।
ग्रीससँग वेम्ब्लीमा २-१ को हार बेहोरेपछि ठूलो दबाबमा रहेको इंग्ल्याण्डले फिनल्यान्डविरुद्ध सुधारिएको प्रदर्शन गरेको थियो । उक्त हारले इंग्ल्याण्डलाई शीर्ष स्थानमा रहेको ग्रीसभन्दा तीन अंकले पछि पारेको थियो ।
खेलको पहिलो हाफमा ज्याक ग्रिलिशले इंग्ल्याण्डका लागि पहिलो गोल गरेका थिए भने ट्रेन्ट एलेक्जेन्डर- अर्नोल्डको सुन्दर फ्रि-किक र डेक्लान राइसको गोलले जित सुनिश्चित ग¥यो । ग्रिलिशले १८ औं मिनेटमा गोमेजको पासमा गोल गरेका थिए ।
७४ औं मिनेटमा अर्नोल्डले गोल गरेपछि इंग्ल्याण्डले अग्रता दोब्बर बनाएको थियो । ८४ औं मिनेटमा राइसले गोल गर्दै फराकिलो जित तर्फ टिमलाई अघि बढाए ।
८७ औं मिनेटमा आर्टु होस्कोनेनको हेडरमार्फत एक गोल फर्काए पनि इंग्ल्याण्डले उत्कृष्ट खेल प्रदर्शन गर्दै तीन अंक बटुलेको थियो ।
यो जितसँगै, इंग्ल्याण्डले फिनल्यान्डविरुद्धको १३ खेलमा अपराजित रहँदै कीर्तिमान कायम गरेको छ । यसअघि इंग्ल्याण्डले १२ खेल फिनल्यान्ड र बुल्गेरियाविरुद्ध खेलेको थियो, जहाँ उसले कुनै पनि हार बेहोरेको थिएन ।
इंग्ल्याण्डका अन्तरिम प्रशिक्षक ली कार्सलीले फिनल्यान्डविरुद्धको जितपछि आफ्नो टोलीले खेलमा सुधार गरेको बताउँदै अझै पनि थप सुधारको आवश्यकता रहेको बताएका छन् ।
इंग्ल्याण्डको समूह चरणका अन्तिम दुई खेल ग्रीस र आयरल्यान्डविरुद्ध क्रमशः नोभेम्बर १४ र १७ मा हुनेछ।
