फिफा विश्वकप-२०२६ को दक्षिण अमेरिकी छनोटमा ब्राजिलले पेरुमाथि सानदार जित निकालेको छ ।
घरेलु मैदानमा भएको खेलमा राफिन्हाको दुई गोलप्रेरित ब्राजिलले पेरुमाथि ४-० गोलअन्तरको सानदार जित निकालेको हो । खेलको ३८औं मिनेटमा राफिन्हाले पेनाल्टीमार्फत गोल गर्दै ब्राजिललाई सुरुवाती अग्रता दिलाएका थिए ।
पहिलो हाफमा १-० को अग्रता लिएको ब्राजिलले दोस्रो हाफमा थप तीन गोल गरेको थियो । खेलको ५४औं मिनेटमा ब्राजिलले फेरि पेनाल्टी पायो । र, त्यसमा गोल गर्दै राफिन्हा अग्रता दोब्बर पारे ।
खेलको ७१औं मिनेटमा एन्ड्रियास परेराले गोल गर्दै ब्राजिललाई ३-० को अग्रता दिलाएका थिए । त्यसपछि खेलको ७४औं मिनेटमा लुइज हेनरिकले गोल गर्दै ब्राजिललाई ४-० गोलअन्तरको जित दिलाए ।
जितसँगै ब्राजिल १० खेलबाट १६ अंकका साथ तालिकाको चौथो स्थानमा छ । शीर्ष स्थानमा रहेको अर्जेन्टिनाको १० खेलबाट २२ अंक छ भने दोस्रो स्थानमा रहेको कोलम्बियाको १० खेलबाट १९ अंक छ ।
