बिपी कोइराला स्मृति कप द्वान्टी-२० क्रिकेट प्रतियोगितामा शनिबार भारतको लाइफ केयर क्रिकेट क्लब र आयोजक नेक्सस रुपन्देही-११ ले विजय सुरुआत गरेका छन् ।
सिद्धार्थ क्रिकेट रंगशालामा पहिलो खेलमा लाइफ केयरले पाकिस्तानको जावेद गोहार अन्तर्राष्ट्रिय क्रिकेट एकेडेमीलाई ९ विकेटले पराजित गर्यो।
जाभेद गोहारले प्रस्तुत गरेको ९० रनको लक्ष्य लाइफ केयरले ७.५ ओभरमा मात्र एक विकेट गुमाएर भेटायो । लाइफ केयरका लागि दीपक पुनियाले २५ बलमा सामन ६ चौका र छक्काको मद्दतले सर्वाधिक ६४ रन तथा दिपांशु फोरेले अविजित २१ रन बनाए । पहिलो विकेटका लागि पुनिया र फोरेले ८६ रनको साझेदारी भएको थियो ।
त्यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको जावेद गोहारले १८.१ ओभरमा सबै विकेट गुमाउँदै ८९ रनको योगफल तयार पारेको थियो । जावेद गोहारका लागि ऋषभ जोशीले सर्वाधिक ४६ रन तथा अली हुसेनले २५ रन बनाए ।
लाइफ केयरका लागि रोहित दांगवालले चार तथा योगेश कुमार र सक्षम शर्माले समान तीन विकेट लिए ।

दोश्रो खेलमा नेक्ससले श्रीलंका स्टेट सर्भिसेस क्रिकेट एसोसिएसनलाई ९ विकेटले पराजित गर्यो।
श्रीलंका स्टेट सर्भिसेसले प्रस्तुत गरेको ८७ रनको लक्ष्य नेक्ससले ७.५ ओभरमा एक विकेट गुमाएर भेटायो ।नेक्ससका लागि ओपनर शंकर रानाले २८ बलमा पाँच छक्का र तीन चौकाको मद्दतले अविजित ५३ रन बनाए । यसैगरी सुमित महर्जनले अविजित ३१ रन जोडे ।
त्यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको श्रीलंका स्टेट सर्भिसेसले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर ८६ रनको योगफल तयार पारेको थियो । श्रींका स्टेट सर्भिसेसका लागि राज वीर र समिर परेराले समान १६ रन, नानी वसुपलिले १५, समान कुमाराले १४ तथा इन्दुनिल प्रसादले १२ रन बनाए ।
नेक्ससका लागि शाहब आलमले तीन, दुर्गेश गुप्ता र दिनेश अधिकारीले समान दुई विकेट तथा बसिर अहमदले एक विकेट लिए ।
प्रतियोगितामा आइतबार पनि दुई खेल हुनेछन्। पहिलो खेलमा नेक्सस र लाइफ केयर तथा दोस्रो खेलमा जोवेद गोहार र बंगलादेशको साइक क्रिकेटर्स प्रतिस्धा गर्नेछन् ।
प्रतियोगितामा विजेताले ५ लाख तथा उपविजेताले ३ लाख रुपैयाँ र ट्रफी प्राप्त गर्नेछन् । प्रतियोगिताको सर्वोकृष्ट खेलाडीले ३५ हजार, उत्कृष्ट बलर र ब्याटरले जनही २० हजार, र प्रत्येक खेलका ‘म्यान अफ द म्याच’ले ५ हजार पाउने छन् ।
