एन्फा महिला लिग भदौ १६ देखि हुने

२०८१, २३ श्रावण बुधबार २०:२८

एन्फा महिला लिग आगामी भदौ १६ गतेदेखि सुरु हुने भएको छ।

अखिल नेपाल फुटबल संघ (एन्फा) ले सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा बुधबार सहभागी क्लबहरूसँग बैठक गरी लिगको किक अफ मिति तय गरेको हो।

प्रतियोगितामा तीन विभागीय क्लब एपीएफ फुटबल क्लब, त्रिभुवन आर्मी क्लब र नेपाल पुलिस क्लबले सहभागिता जनाउने छन्। यसतै, चन्द्रपुर नगरपालिका, वालिङ नगरपालिका, कोशी प्रदेश, सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश, संकटा एफसी र वाग्मती युवा क्लब गरी १० टोलीको सहभागिता रहनेछ।

सुर्खेतमा वैशाख ७-२० गतेसम्म भएको छनोट प्रतियोगितामा कोशी प्रदेश, सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेश शीर्ष स्थानमा रहेर लिगमा आइपुगेका हुन्।

टोलीहरूले पहिलो राउन्डमा ४५ खेल खेल्ने छन्। यो सिंगल राउन्ड रोबिन सञ्चालन हुनेछ। ब्रेकपछि पहिलो राउन्डका शीर्ष पाँच टोलीले सुपर लिग खेल्ने छन्। यो लिग डबल राउन्ड रोबिनमा हुनेछ। सुपर लिगका शीर्ष चार टोलीले त्यसपछि छनोट, एलिमिनेटर र प्रतियोगिताको फाइनलमा खेल्ने छन्।

प्रतियोगिताको उद्घाटन दशरथ रंगशालामा हुने छ। खेलहरू च्यासलको च्यासल रंगशाला र सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा पनि हुने एन्फाले जनाएको छ।

प्रतियोगिताको तयारीका लागि सहभागी टोलीले सात लाख रुपैयाँ प्राप्त गर्नेछन्। प्रतियोगिता मंसिरमा समापन हुनेछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *