युरो २०२४ को क्वार्टरफाइनल खेलहरू समाप्त भएका छन् ।सेमिफाइनलको समीकरणअनुसार बुधबार स्पेनले फ्रान्सको र बिहीबार नेदरल्यान्ड्सले इंग्ल्यान्डको सामना गर्नेछ ।

खेल अन्तिम चरणमा प्रवेश गरिरहँदा सर्वाधिक गोलकर्ताले पाउने गोल्डन बुटको दौड निकै रोचक देखिएको छ । चार जना खेलाडीहरूले हालसम्म सर्वाधिक ३-३ गोल गरेका छन् । यसमध्ये नेदरल्यान्ड्सका कोडी गाक्पोमात्र दौडमा कायम छन् ।

जर्जियाका जर्जेस मिकाउटाइजे, जर्मनीका जमाल मुसियाला र स्लोभाकियाका इभान सरान्ज प्रतियोगिताबाट बाहिर भइसकेका छन् । गाक्पोलाई स्पेनका डेभि ओल्मो र फाबियन रुइज, इंग्ल्यान्डका जुड बेलिङहम र ह्यारी केन तथा नेदरल्यान्ड्सकै डोनयेल मलेनले पछ्याइरहेका छन् । सबै खेलाडीले २-२ गोल गरेका छन् ।

उनीहरूबाहेक स्विटजर्ल्यान्डका ब्रिल एमबोलो, रोमानियाका राजभान मरिन, जर्मनीका फ्लोरियन ब्रिज, काई हाभर्ज र निकलास फुलकुग तथा टर्कीका मेरिह डेमिरलले पनि २-२ गोल गरेका छन् । तर, यी खेलाडीहरू प्रतियोगिताबाट बाहिरिइसकेका छन् ।

प्रतियोगितामा हालसम्म १ सय ८ गोल भएका छन् । प्रत्येक खेलमा गोलको औसत २.२५ गोल रहेको छ । प्रत्येक ४० मिनेटमा एक गोल भइरहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *