युवा ब्राजिलियन स्ट्राइकर एन्ड्रिक रियल म्याड्रिडको नयाँ खेलाडीका रूपमा सार्वजनिक भएका छन् ।

रियलले क्लबको स्टेडियम सान्टियागो बर्नाबेउमा एक समारोहका बीच उनलाई सार्वजनिक गरेको हो ।

१८ वर्षीय स्ट्राइकर एन्ड्रिक ब्राजिलियन क्लब पाल्मिरासबाट रियल पुगेका हुन् । सम्झौता भएको ५ सय ८४ दिन पछि उनले क्लबसँगको सम्झौतामा हस्ताक्षर गरेका हुन् ।

रियलले ७० मिलियन युरोमा उनलाई अनुबन्ध गरेको युरोपेली संचार माध्यमहरुले सार्वजनिक गरेका थिए। उनलाई रियलले १६ वर्षका हुँदा क्लबमा ल्याउने सम्झौता गरेपनि फिफा नियमहरूले १८ वर्ष भन्दा कम उमेरका खेलाडीहरूलाई विदेश स्थानान्तरण गर्न रोक्ने हुँदा एन्ड्रिकले रियल जानको लागि आफ्नो १८औं जन्मदिनसम्म कुर्नुपरेको थियो ।

१८ महिनाअघि सम्झौता भएको बेला एन्ड्रिकले दुई महिना मात्र सिनियर फुटबल खेलिरहेका थिए । यद्दपी त्यसयता उनले दुई पटक ब्राजिलियन सिरी ए र पाल्मिरासका लागि ब्राजिलियन सुपर कप जितेका छन् ।

आफ्नो मातृभूमिमा खेल्दै छोटो अवधिमा एन्ड्रिकले पाल्मिरासका लागि सबै प्रतियोगिताहरूमा ८२ खेलहरूमा २१ गोल गरेका थिए ।

केवल १७ वर्षको उमेरमा उनले नोभेम्बरमा कोलम्बिया विरुद्ध ब्राजिल राष्ट्रिय टोलीको लागि डेब्यु गरेका थिए ।

यो सिजन रियलले यसअघि नै किलियन एम्बाप्पेलाई क्लबमा भित्र्याइसकेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *