कोशी प्रदेश स्तरीय अन्तरजिल्ला पुरूष फुटबल प्रतियोगिताको उपाधि मोरङ्गले जितेको छ ।
शनिबार तेह्रथुमको म्याङलुङ रंगशालामा भएको फाइनल खेलमा ओखलढुंगालाई २-० गोलले पराजित गर्दै मोरङले उपाधि चुमेको हो । मोरङ्गको जितमा असोक खवास र साइमन लिम्बुले १-१ गोल गरे ।
उपाधिसँँगै मोरङ्गले ३ लाख ३३ हजार ३ सय ३३ रूपैया सहित ट्रफि मेडल र प्रमाणपत्र प्राप्त गर्यो भने उपविजेता ओखलढुंगाले २ लाख २२ हजार २ सय २२ सहित ट्रफि मेडल र प्रमाणपत्रमा चित्त बुझायो ।
प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी मोरङ्गका सुशिल राइ, उत्कृष्ट मिड फिल्डर ओखलढुंगाका मानष राई, उत्कृष्ट डिफेन्डर मोरङ्गका असोक खवास, उत्कृष्ट फर्वाड मोरङ्गका सुशिल राई, उत्कृष्ट गोल रक्षक मोरङ्गका पूर्ण चेम्जोङ, म्यान अफ द म्याच मोरङ्गका मौषम लिम्बु, उदयमान खेलाडी तेह्रथुमका अप्सन लिम्बु र उत्कृष्ट प्रशिक्षक मोरङ्गका प्रकाश मल्ल घोषित भए। उत्कृष्ट सबैलले जनही ११ हजार १ सय ११ सहित ट्रफि र प्रमाण पत्र प्राप्त गरे ।
कोशी प्रदेश खेलकुद विकास वोर्डको आयोजना, म्याङलुङ नगरपालिकाको सह-आयोजना र खेलकुद विकास समिति तेह्रथुमको संयोजनमा असार ३ गते देखि शुरू भएको प्रतियोगिता असार ८ गते भव्यताका साथ सम्पन्न भएको छ । प्रतियोगितामा कोशी प्रदेशका १४ वटै जिल्लाको सहभागिता रहेको थियो ।
