विराटनगर । विराटनगरमा जारी तेस्रो संंस्करणको एसईइ कप अन्तर विद्यालयस्तरीय रनिङ शिल्ड फुटबल प्रतियोगितामा शनिबार पाँँच विद्यालय विजयी भएका छन् । विराटनगरको शहिद मैदानमा शनिबार भएको खेलमा वीरेन्द्र माध्यमिक विद्यालय, डिपिएस स्कुल, सुनसरी क्रिस्टल एकेडेमी, जनता नमुना स्कुल र आदर्श माध्यमिक विद्यालय बिजयी भएका हुन् ।

पहिलो खेलमा वीरेन्द्र माध्यमिक विद्यालयले कर्मवीर माध्यमिक विद्यालयलाई २-१ गोल अन्तरले पराजित गर्यो । वीरेन्द्रको जितमा समीर माझी र आसान ऋषिदेवले १-१ गोल गरे । कर्मवीरका रोहन सरदारले एक सान्त्वना गोल फर्काए । खेलको प्लेयर अफ दि म्याच वीरेन्द्रका समीर माझी चुनिए ।

दोस्रो खेलमा डिपिएस स्कुलले इडेन स्कुललाई ३-० गोलले पाखा लगायो । डिपिएसका आयुस सहनी, अमन खवास र बिटिस राईले १-१ गोल गरे । डिपिएसका आयुस सहनी खेलको प्लेयर अफ दि म्याच घोषित भए ।

त्यसैगरी तेस्रो खेलमा सुनसरी क्रिस्टल एकेडेमीले शारदा माध्यमिक विद्यालयलाई टाइब्रेकरमा ४-२ गोलले हरायो । निर्धारित समयमा दुबै टोलीले १-१ गोलको बराबरी खेलेपछि खेल टाइब्रेकरमा धकेलिएको थियो । निर्धारित समयमा सुनसरीको तर्फबाट पवन रिजालले गोल गरेका थिए भने शारदाको तर्फबाट समीर हुसेनले गोल गरेका थिए ।खेलको प्लेयर अफ दि म्याच सुनसरीका निर्जल खतिवडा भए ।

दिनको चौथों खेलमा जनता नमुना स्कुलले विराट शिक्षा निकेतनलाई ५-० गोलको फराकिलो अन्तरले पराजित गर्यो । जनतालाई जित दिलाउने क्रममा सबिन माझीले तीन गोल गर्दै प्रतियोगितामा पहिलो ह्याट्रिक प्रहार गरे । त्यसैगरी आयुस राजबंंशी र रोहन मण्डलले थप १-१ गोल गर्दै आफ्नो टोलीलाई शानदार जित दिलाए । ह्याट्रिक प्रहार गरेका जनताका सबिन माझी खेलको प्लेयर अफ दि म्याच घोषित भए ।

दिनको अन्तिम तथा पाँचौ खेलमा आदर्श माध्यमिक विद्यालयले अर्पण स्कुललाई ४-० गोल अन्तरले हरायो । आदर्शकालागि अनमोल अधिकारीले २ तथा युसन लिम्बु र स्लोक बस्नेतले १-१ गोल गरे । दुई गोल गरेका अनमोल अधिकारी खेलको प्लेयर अफ दि म्याच चुनिए ।

पोखरिया युथ केयर एकेडेमीको आयोजनामा जारी प्रतियोगितामा सुनसरी र मोरङका गरी जम्मा ४४ वटा विद्यालयको सहभागिता रहेको छ र फाइनल खेल असार १८ गते हुनेछ ।

प्रतियोगिताअन्तर्गत आइतबार पनि ५ वटा खेल हुने आयोजक पोखरिया युथ केयर एकेडेमीका विक्रम कार्कीले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *