मिचेल स्टार्क विश्वकप इतिहासकै उत्कृष्ट बलर बनेका छन् । स्टार्क एकदिवसीय र टी-२० ढाँचामा संयुक्त रुपमा विश्वकपमा सर्वाधिक विकेट लिने खेलाडी बनेका छन् ।

उनले श्रीलंकाका पूर्व फास्ट बलर लासिथ मालिंगालाई पछि पारे । मालिंगाले विश्वकप खेल्दा करियरमा ९४ विकेट लिएका थिए । अब उनलाई मिचेल स्टार्कले पछि पार्दै ९५ विकेट लिएका छन् ।

अष्ट्रेलियाका तेज बलरले २०२४ को टी-२० विश्वकपमा बंगलादेशविरुद्ध खेलेको खेलमा यो ऐतिहासिक अंक छोएका हुन् ।

टी-२० विश्वकप २०२४ को ४४ औं खेल अष्ट्रेलिया र बंगलादेशबीच भएको छ । यो सुपर-८ चरणको खेल थियो, जसमा स्टार्कले तान्जीद हसनलाई बोल्ड गर्दै आफ्नो करियरमा विश्वकपको ९५ औं विकेट लिए । खेलको पहिलो ओभरको तेस्रो बलमा स्टार्कले तान्जिदलाई बोल्ड गरेका थिए ।

स्टार्कले विश्वकपमा मालिंगाभन्दा कम इनिङ्समा सबैभन्दा बढी विकेट लिने कीर्तिमान बनाए । मालिंगाले विश्वकपको ५९ इनिङ्समा ९४ विकेट लिएका थिए भने स्टार्कले ५२ इनिङ्‌समा ९५ विकेट लिए । बंगलादेशका स्टार अलराउन्डर शकिब अल हसन यो सूचीमा तेस्रो स्थानमा छन् । शकिबले ७५ इनिङ्समा ९२ विकेट लिएका छन् ।

मिचेल स्टार्कले आफ्नो करियरमा हालसम्म १२१ एकदिवसीय र ६३ टी-२० अन्तर्राष्ट्रिय खेल खेलेका छन् । एकदिवसीयका १२१ इनिङ्समा २२.९६ को औसतमा २३६ विकेट लिएका छन्, जसमा उनको उत्कृष्ट स्पेल ६/२८ रहेको छ । यसबाहेक उनले टी-२० अन्तर्राष्ट्रियका ६३ इनिङ्समा २३.८८ को औसतमा ७६ विकेट लिएका छन्, जसमा उनको उत्कृष्ट स्पेल ४/२० रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *