स्पेनिस टोली रियल म्याड्रिडले युरोपियन च्याम्पियन्स लिगको उपाधि जितेको छ । लन्डन स्थित वेम्ब्ली स्टेडियममा शनिबार भएको फाइनलमा जर्मन टोली बोरुसिया डर्टमुण्डलाई २-० ले हराउँदै रियलले उपाधि जितेको हो ।

च्याम्पियन्स लिगमा रियल सर्वाधिक सफल टोली हो। रियलको यो कीर्तिमानी १५ औं च्याम्पियन्स लिग उपाधि हो । रियललाई जित दिलाउन ड्यानी कार्भाजाल र भिनिसियस जुनियरले गोल गरे । दुवै गोल दोस्रो हाफमा सम्भव भएको थियो ।

कार्भाजालले ७४ औं र जुनियरले ८३ औं मिनेटमा गोल गरेका हुन् । टोनी क्रुजको कर्नरमा कार्भाजालले हेड गोल गरेका हुन् । डर्टमुन्डका खेलाडीको मिस पासको फाइदा उठाउँदै जुड बेलिङघमले उपलब्ध गराएको पासमा जुनियरले गोल गरेका हुन् । यो सिजनमा सबै खाले प्रतियोगितामा गरि जुनियरको त्यो २४ औं गोल हो ।

रियलभन्दा पछि च्याम्पियन्स लिगमा एसी मिलानको ७ उपाधि छ । डर्टमुण्ड १९९७ पछि पहिलो पटक च्याम्पियन बन्ने मौकाबाट चुकेको छ । पछिल्लो पटक डर्टमुण्ड २०१३ मा च्याम्पियन्स लिग फाइनल पुगेको थियो । सो फाइनलमा डर्टमुण्डले बायर्न म्युनिखविरुद्ध २-१ को हार बेहोरेको हो ।

डर्टमुण्डका लिजेण्ड मार्को रुइसका लागि आजको खेल १२ वर्षपछि क्लबका लागि अन्तिम थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *