‘कोपा अमेरिका २०२४’ मा भोलि सोमबार बिहान लुइस स्वारेजको टिम उरुग्वे र पानामाबीच खेल हुने छ । समूह ‘सी’ मा रहेका दुई टिमबीच नेपाली समयाअनुसार, बिहान ६:४५ बजेपछि अमेरिकाको हार्ड रक स्टेडियममा खेल सुरु हुने छ । जारी प्रतियोगिताको समूह चरणमा दुवै टिम पहिलोपल्ट मैदान उत्रिन लागेका हुन् ।
ब्राजिललाई कोस्टारिकाको चुनौती
उपाधि दाबेदार मानिएको ब्राजिललाई पर्सि मंगलबार बिहान कोस्टारिकाले चुनौती दिने छ । यो खेल पनि नेपाली समयाअनुसार बिहान ६ः४५ बजे नै सुरु हुने छ । नेपालमा समेत थुप्रै समर्थक रहेको ब्राजिलियन टिममा यसपल्ट युवा अनुहार भरिभराउ छन् ।
२० जूनबाट सुरु भएको प्रतियोगितामा अर्जेन्टिना, भेनेजुएला र मेक्सिकोले विजयी सुरुवात गरेका छन् । आज आइतबारको खेलमा भेनेजुएलाले इक्वेडरलाई २-१ गोल अन्तरले पराजित गरेको छ ।
