साविक विजेता इटालीलाई १-० ले पराजित गर्दै स्पेनले जर्मनीमा जारी युरो कपको अन्तिम १६ मा स्थान बनाएको छ ।
राइन वेस्टफेलियास्थित एरिना अफसाल्के रंगशालामा भएको खेलमा इटालीका रिर्काडो कालाफिरीको आत्मघाती गोलमार्फत् स्पेन विजयी भयो ।
तुलनात्मक रुपमा खेलमा प्रभाव जमाएको स्पेनले खेलको ५५ औं मिनेटमा कालाफिरीको आत्मघाती गोलमार्फत् १-० को अग्रता लियो । त्यसपछि खेलमा थप गोल भने निस्किएन ।
महत्वपूर्ण जितसंगै समूह ‘बी’ मा रहेको स्पेनले दुई खेलबाट ६ अंक जोड्दै समूह तालिकाको शीर्ष स्थानमा कायम रहेको छ । योसंगै स्पेनले समूह चरणको एक खेल खेल्न बाँकी रहेको अवस्थामै अन्तिम १६ स्थान पक्का गरेको छ ।
पराजित इटालीको भने समान दुई खेलमा ३ अंकसहित तालिकाको दोस्रो स्थानमा रहेको छ । अल्बानीया र क्रोएसियाको समान १ अंक छ ।
