जारी आइसिसी टि-२० विश्वकपमा अस्ट्रेलियाले विजयी सुरुवात गरेको छ।

बिहीबार सम्पन्न खेलमा अस्ट्रेलियाले ओमानलाई ३९ रनले पराजित गरेको हो। अस्ट्रेलियाले दिएको १६६ रनको लक्ष्य पछ्याएको ओमानले निर्धारित २० ओभरमा नवौ विकेट गुमाउँदै १२५ रन बनायो।

ओमानका आयन खानले सर्वाधिक ३६ रन बनाए। ३० बल खेलेका उनले समान दुई चौका र छक्का प्रहार गरे। मेहरान खान २७, अकिब इलियास १८ र शकील अहमद ११ रनमा आउट हुँदा अन्यको प्रदर्शन राम्रो हुन सकेन।

अस्ट्रेलियाका मार्कस स्टोइनिसले सर्वाधिक तीन विकेट लिए। तीन ओभर बलिङ गरेका उनले १९ रन खर्चिए। एडम जाम्पा, मिचेल स्टार्क र नेथन एलिसले समान दुई विकेट लिए।

त्यसअघि केन्सिङ्टन ओवल ब्रिजटाउन, बार्बाडोसमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको अस्ट्रेलियाले निर्धारित २० ओभरमा पाँच विकेट गुमाउँदै १६५ रन बनाएको थियो।

अस्ट्रेलियाका मार्कस स्टोइनिसले अविजित रहँदै सर्वाधिक ६६ रन बनाए। ३५ बल खेलेका उनले दुई चौका र ६ छक्का प्रहार गरे।

४९ बल खेलेका डेभिड वार्नरले ६ चौका र एक छक्कासहित ५४ रन प्रहार गरे। कप्तान मिचर्ल मार्श १४, ट्राभिस हेड १२ र टिम डेविड १० रनमा आउट हुँदा ग्लेन मैक्सवेलले खाता खोल्न सकेनन्।

ओमानका मेहरान खानले सर्वाधिक दुई विकेट लिए। चार ओभर बलिङ गरेका उनले ३८ रन खर्चिए। बिलाल खान र कलीमउल्लाहले समान एक विकेट लिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *