धनकुटामा जारी सहिद रामकृष्ण श्रेष्ठ स्मृति कोशी प्रदेशस्तरीय अन्तरपालिका महिला फुटबल प्रतियोगितामा सोमबार दुई खेल सम्पन्न भएकाछन् । जसमा मोरङको मिक्लाजुङ गाउँपालिका र धनकुटा नगरपालिका जीत हात पार्दै सेमिफाइनल प्रवेश गरेका छन् ।
मिक्लाजुङ र सहिदभूमि गाउँपालिकाबीचको पहिलो खेलमा मिक्लाजुङले १-० गोलअन्तरमा जीत हात पारेको हो ।
विजेता टिमकातर्फबाट खेलको अन्तिम क्षण अतिरिक्त दुई मिनेट थप गरिएको अवधिमा सलिजा राईले गोल गर्दै आफ्नो टिमलाई सेमिफाइनल यात्रामा पुर्याइन् । खेल अवधिभरको अधिकांस समय आफ्नो पक्षका बल कब्जा गरेको सहिदभूमिले अन्तिम समयमा पराजय व्यहोर्न पुग्यो । सहिदभूमिले फिनिसिङ अभावमा गोल गर्ने कयौं मौका गुमाउँदा हारको सामना गर्नपुग्यो ।
यसैगरी, धनकुटा नगरपालिका र पाख्रिबास नगरपालिकाबीचको खेलमा धनकुटाले ३-० को फराकिलो गोलअन्तरमा जीत हात पार्न सफल भएको छ।
पहिलो हाफ गोल रहित बराबरीमा टुंगिएपनि दोस्रो हाफमा लगातार ३ गोल गर्दै धनकुटा सेमिफाइन प्रवेश गरेको छ । विजयी टिमकातर्फबाट मनिता तामाङले २ र विपना राईले थप एक गोल गर्दै आफ्नो टिमलाई सहज जीत दिलाइन् । पहिलो खेलको प्लेयर अफ द म्याच मिक्लाजुङका खेलाडी सलिजा राई घोषित भइन् । सहिदभूमिका प्रजिता राईले प्रोत्साहन पुरस्कार प्राप्त गरिन् । यसैगरी, दोस्रो खेलको प्लेयर अफ द म्याच धनकुटाका मनिता तामाङ घोषित भएकी छिन् ।
