धनकुटा – धनकुटाको साँगुरीगढी गाउँपालिकालाई ६-० गोलअन्तरमा जित हात पार्दै झापाको कन्काइ नगरपालिका सहिद रामकृष्ण श्रेष्ठ स्मृति कोशी प्रदेशस्तरीय अन्तरपालिका महिला फुटबल प्रतियोगिताको सेमिफाइनल प्रवेश गरेको छ ।
धनकुटाको तल्लो टुंडिखेलमा मंगलबार अपराह्न सम्पन्न खेलमा कन्काइले फराकिलो गोलअन्तरमा जित हात पारेको हो । कन्काइले पहिलो हाफको ३, ८, १२ र १५ मिनेटमा लगातार गोलको वर्षा गर्यो । यस्तै, दोस्रो हाफमा समेत थप २ गोल गर्दै उसले साँगुरीगढीलाई फराकिलो गोल अन्तरमा सहज जित निकाल्यो ।
कन्काइका लागि प्रतिक्षा राईले सुरुआती गोल गरेकी थिइन् । यस्तै, जेनिफा रानामगर, समीक्षा राई र सिमरन राईले पहिलो हाफको ३० मिनेटको अवधिभित्र ४ गोल गरेका थिए ।
कन्काइका खेलाडी समीक्षाले व्यक्तिगत दोस्रो गोल थप्दै टिमका लागि पाँचौ गोल गरिन् । छैटौं गोल ममता राउतले गरेकी थिइन् ।
अधिकांश राष्ट्रिय प्रतिस्पर्धामा सहभागी खेलाडीसहित मैदान उत्रिएको कन्काइको अगाडि साँगुरीगढीका खेलाडी निरिह देखिन्थे । कन्काइको पास र फिनिसिङ प्रशंसनीय रहेको थियो । साँगुरीगढीका तर्फबाट अनुभवी खेलाडी भए पनि फिनिसिङ र पासमा फितलो हुँदा पराजय बेहोर्न पुग्यो । साँगुरीगढीले दोस्रो हाफको मध्य समयमा पाएको पेनाल्टी समेत गुमाउँदा सान्त्वना गोल गर्नबाट चुक्यो । उक्त टिमका सलिना लिम्बुको पेनाल्टी प्रहार गोलपोष्टबाट बाहिरिएपछि गोल गर्नबाट वञ्चित बन्यो ।
