दश खेलाडीमा सिमित बोचुमलाई ५–० ले हराउँदै बायर लेभरकुसनले आफ्नो अपराजित यात्रा ५० खेलमा पुर्याएको छ ।
पहिलो पटक जर्मन बुन्डेसलिगाको उपाधि उचालेको लेभरकुसनको ३३ खेलबाट ८७ अंक रहेको छ । यससिजन टोलीले ६ खेलमा अंक बाढेको छ । दोस्रो स्थानको बायर्न म्युनिखको ३३ खेलबाट ७२ अंक छ । बोचुम ३३ अंकसहित १४औं स्थानमा रह्यो ।
जाभी अलोन्सोको प्रशिक्षणमा रहेको लेभरकुसनलाई जिताउन प्याट्रिक स्चिक, भिक्टोर बोनिफेस, अमिन अलि, जोसिप स्टानिसिक र एलेक्स ग्रिमाल्डोले गोल गरेका हुन् । बुन्डेसलिगामा भिक्टोरले १३ गोल पुऱ्याएका छन् ।
लेभरकुसनले सिजनको अन्तिम खेल घरेलु मैदानमा औग्सबर्गविरुद्ध शनिबार राति खेल्नेछ । लेभरकुसन कुनै हार बिनै बुन्डेसलिगा उपाधि जित्ने टोली बन्नेछ ।
यसअघि सन् १९८६-८७ र सन् २०१२-१३ सिजनमा बायर्नले एक खेल हारेको थियो ।
बुन्डेसलिगा च्याम्पियन लेभरकुसनले अर्को साता युरोपा लिग फाइनलमा इटालियन एटलान्टाको सामना गर्नेछ । खेल २२ मे मा डब्लिनमा हुने छ । त्यसको तीन दिनपछि जर्मन कपको फाइनल खेल्नेछ ।
