पाकिस्तानविरुद्धको चार खेलको टि-२० आई सिरिज इंग्ल्यान्डले २-० ले जितेको छ । बिहीबार राति भएको खेलमा इङ्ल्यान्डले सात विकेटको जित निकाल्दै विश्वकपअघि राम्रो तयारी भएको संकेत गर्यो ।

यसअघि भएको दुई खेल वर्षाले प्रभावित हुँदा सुरु हुनै सकेन । दोस्रो ट्वान्टी २० आईमा इंग्ल्यान्ड २३ रनले विजयी भएको थियो ।

द ओभरमा भएको चौथो खेलमा पहिलो ब्याटिङ गरेको पाकिस्तानले १९.५ ओभरमा सबै विकेट गुमाउँदा एक सय ५८ रनको लक्ष्य प्रस्तुत गरेको थियो । प्रत्युत्तरमा इंग्ल्यान्डले १५.३ ओभरमा तीन विकेट गुमाएर जित निकाल्यो ।

इंग्ल्यान्डको जितमा ओपनर फिल साल्टले २४ बलमा ६ चौका र २ छक्कासहित सर्वाधिक ४५ रन बनाए । कप्तान जस बटलरले ३९ रन जोडेका थिए । दुईबीच पहिलो विकेटको लागि ८२ रनको बलियो साझेदारी भएको हो ।

विल ज्याक्स्ले २० र जोनी बाइस्टोवले २८ तथा ह्यारी ब्रोकले १७ रनको योगदान गरेका थिए । पाकिस्तानका तिग्रगतिका बलर हरिस राउफले मात्र तीन विकेट हात पारेका हुन् ।

यसअघि टस हारेर ब्याटिङ गरेको पाकिस्तानको लागि उस्मान खानले सर्वाधिक ३८ तथा ओपनरद्वय कप्तान बाबर आजमले ३६ र मोहम्मद रिजवानले २३ रन बनाए । मध्यक्रमका अनुभवी ब्याटर अफ्तिखर अहमदले २१ रन जोडे

बाबर र रिजवानले पहिलो विकेटको लागि ५९ रनको बलियो साझेदारी गरेका थिए । तर, मध्यक्रम र तल्लो क्रमका ब्याटर चल्न नसक्दा पाकिस्तानले ठूलो स्कोर बनाउन सकेन । बाँकी एक सय रन जोड्दा सबै विकेट गुमाउन पुग्यो ।

वेष्ट इन्डिज र अमेरिकामा आयोजना हुने ट्वान्टी २० विश्वकपको आफ्नो पहिलो खेलमा इंग्ल्यान्डले जुन ४ मा स्कटल्यान्डको सामना गर्नेछ । पाकिस्तानले जुन ६ मा अमेरिकासँग पहिलो खेल खेल्ने तालिका छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *