कर्णाली प्रदेशको प्रमुख पर्यटकीय स्थल राराको प्रवर्द्धन गर्ने उद्देश्यले आयोजित चौथो रारा ट्रेल रनको उपाधि पुरुषतर्फ मुगुका अक्कल बढुवाल र महिलातर्फ जुम्लाकी राज्यलक्ष्मी रुावलले जितेका छन् ।

राराको प्रचार प्रसारको मुख्य उद्देश्यका साथ नेपाली सेनाले रारा ताल वरिपरीको १६ किलोमिटर दौड आयोजना गरिएको हो । एक सय ६९ प्रतिष्पर्धी सहभागी पुरुषतर्फको दौडमा निर्धारित दूरी एक घण्टा दुई मिनेट १० सेकेण्डमा पूरा गर्दै छायाँनाथ रारा नगरपालिका बाम गाउँका बढुवालले उपाधि जितेका हुन् ।

बढुवालभन्दा एक सेकेण्डले पछि परेका शेरबहादुर बुढा दोस्रो भए । जुम्लाको कनकासुन्दरी गाउँपालिकाका बुढाले १६ किलोमिटरको दूरी एक घण्टा दुई मिनेट ११ सेकेण्डमा पूरा गरेका थिए । सोही स्थानकै चन्द्र रावतले एक घण्टा दुई मिनेट २१ सेकेण्ड मार्क गर्दै तेस्रो स्थान हासिल गरे ।

महिला सहभागी ३५ जनामध्ये गोठीचौर गाउँपालिका- ३ गज्याङकोट गाउँकी राज्यलक्ष्मी रावलले निर्धारित १६ किलोमिटरको दूरी एक घण्टा १४ मिनेट ३३ सेकेन्डमा पार गर्दै पहिलो भइन्। पातारासी गाउँपालिका जुम्ला पेरा गाउँकी कल्पना बुढाले एक घण्टा १४ मिनेट ५२ सेकेन्ड लगाएर दोस्रो र जुम्ला जिल्ला समिता बुढाले १ घण्टा १६ मिनेट ३१ सेकेन्ड लगाएर तेस्रो भए ।

उपाधिसँगै प्रथम हुने बढुवाल र रावलले ५० हजार हात पारे भने दोस्रो भएकाले ४० हजार र तेस्रो भएकाले ३० हजार रुपैयाँ पुरस्कार पनि पाए ।

विजेताहरूलाई प्रमुख जिल्ला अधिकारी टोपेन्द्र केसी, छायानाथ रारा नपा कावा प्रमुख पदमराज मल्ल, हिमा गाउँपालिका जुम्लाका अध्यक्ष, उत्तर पश्चिम पृतना उपरथी कृष्णदेव भट्टले पुरस्कार, प्रमाणपत्र र ट्रफी प्रदान गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *