लगातार चौथो वर्ष इङ्ग्लिस प्रिमियर लिग च्याम्पियन बन्दै दुर्लभ इतिहास बनाउन म्यानचेस्टर सिटी दुई खेलबाट मात्र टाढा रहेको छ। जितको दबाबमा रहेको दिन फुलह्यामलाई ४-० गोल अन्तरले पराजित गर्दै सिटी लगातार चौथो वर्ष लिगको उपाधिनजिक पुगेको हो।

क्रेभेन कुटीजमा शनिबार सम्पन्न खेलमा सिटीलाई महत्त्वपूर्ण जित दिलाउन जोस्को ग्वार्डियोलले २ गोल गरे ।यस्तै, फिल फोडेन र जुलियन अल्भारेजको नाममा १/१ गोल रह्यो। जितसँगै लिग लिडर बनेको सिटीले ३६ खेलबाट ८५ अंक जोडेको छ।

समान खेल खेलेको आर्सनल सिटीभन्दा २ अंकले पछाडि परेको छ। आर्सनल ८३ अंकसहित दोस्रो र लिभरपुल ७८ अंकसहित तेस्रो स्थानमा रहेको छ।

शीर्ष दुई टोलीले दुई-दुई खेल खेल्न बाँकी छ। आर्सनलले आइतबार म्यानचेस्टर युनाइटेडको सामना गर्नेछ। उसको अन्तिम खेल भने एभर्टनसँग हुने छ। जुन खेल मे १९ मा आर्सनलको घरेलु मैदान इमिरेट्स स्टेडियममा हुने छ।

आर्सनलले उक्त दुई खेल जित्दै सिजनको अन्त्य गरेपनि पेप ग्वार्डिओलाको टोलीले मंगलबार टोटेनह्यामसँग ३७औं खेल खेल्ने छ। यो खेल सिटीलाई जित्नै पर्ने दबाबमा रहेको छ। त्यस्तै, मे १९ मा घरेलु मैदानमा वेस्ट ह्यामलाई पराजित गरे सिटीले लगातार चौथो पटक उपाधि जित्ने छ।

ग्वार्डिओलाले आफ्नो खेलाडी दबाबमा खेल्न रुचाउँने बताएका छन्। ‘मेरा खेलाडी दबाबमा खेल्न रुचाउँछन्। उनीहरू यसमा अभ्यस्त भइसकेका छन्। खेलाडीहरू यसबाट आनन्द लिन्छन्,’ उनले भने।

इ‌ङ्लिस फुटबलको १३६ वर्षको इतिहासमा कुनै पनि टिमले लगातार चार पटक शीर्ष डिभिजनको उपाधि जित्न सकेको छैन। ६ पटक प्रिमियर लिग जितिसकेको सिटीले यसअघि सन् २०२१, २०२२ र २०२३ मा उपाधि जित्दै ‘ह्याट्रिक’ गरेको थियो।

सिटीले मे २५ मा म्यानचेस्टर युनाइटेडविरुद्ध एफए कपको उपाधिका लागि पनि खेल्ने छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *