कोशी प्रदेशले ललितपुर मेयर कप राष्ट्रिय महिला ट्वान्टी २० क्रिकेट प्रतियोगितामा लगातार तेस्रो हार ब्यहोरेको छ ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा बुधबार बगमतीसँग कोशी आठ विकेटले पराजित भएको हो ।

जितसँगै बागमतीले तीन खेलमा दुई अंक जोडेको छ । तीनै खेलमा पराजित कोशी अंकविहिन छ ।

कोशीले प्रस्तुत गरेको ६४ रनको लक्ष्य बागमतीले ११.२ ओभरमा दुई विकेट गुमाउँदै पूरा गर्यो । वर्षाका कारण खेललाई १३ ओभरमा झारिएको थियो । बागमतीका लागि याशु पाण्डले २६, कञ्चन श्रेष्ठ र खुशी डंगोलले समान ११ तथा हेलिशा गुरुङले १० रन बनाए ।

कोशीका लागि हिरनमायी रोय र कप्तान अप्सरी बेगमले समान एक विकेट लिए ।

त्यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको कोशीले निर्धारित १३ ओभरमा ६ विकेट गुमाउँदै ६४ रनको योगफल तयार पारेको थियो । कोशीका लागि अप्सरी बेगमले ३५ रन बनाउनुबाहेक अन्य ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन् ।

बागमतीका लागि खुशी डंगोल र मनिष उपाध्यायले समान दुई विकेट लिए ।

बुधबार नै नेपाल एपिएफ क्लबले ललितपुर मेयर ११ लाई आठ विकेटले पराजित गर्यो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *