भिनिसियस जुनिअरको दुई गोल गरेसँगै स्पेनिस ला लिगाको उपाधि जितिसकेको रियल मड्रिडले अल्भेसलाई पराजित गरेको छ।

बर्नेबाउमा मंगलबार राति सम्पन्न खेलमा घरेलु टोली रियल ५-० गोल अन्तरले विजयी भएको हो। जितसँगै ३६ खेल खेलेको रियलको ९३ अंक पुगेको छ। पराजित अल्भेस ३६ खेलबाट ४२ अंकसहित ११औं स्थानमा छ।

खेलको १० औं मिनेटमा जुड बेलिङ्ङ्घमले गोल गर्दै रियललाई शुरूआती अग्रता दिलाएका थिए। उनले टोनी क्रुसको पासमा गोल गरे। २७औं मिनेटमा जुनिअरले एडुआर्डो कामाभिङ्गाको पासमा गोल गर्दै रियलको अग्रता दोब्बर बनाए।

पहिलो हाफको इन्ज्युरी समयको पहिलो मिनेटमा बेलिङ्ङ्घमको पासमा फेडेरिको भल्भर्डोले गोल गर्दै रियलको अग्रता ३-० मा पुऱ्याए।

७०औं मिनेटमा जुनिअरले व्यक्तिगत दोस्रो तथा टोलीका लागि चौथो गोल गरे। उनले बेलिङ्ङ्घमकै पासमा गोल गरे। ८१औं मिनेटमा अर्दा गुलरले गोल गर्दै रियललाई ५-० गोल अन्तरको जित दिलाए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *