घरेलु टोली अमेरिकाले बंगलादेशसँगको ३ खेलको टी-२० आई सिरिज एक खेल अगाडि नै जितेको छ।
बिहीबार राति सम्पन्न दोस्रो खेलमा बंगलादेशलाई ५ रनले पराजित गर्दै अमेरिकाले २-० ले सिरिज जितेको हो। मंगलबार सम्पन्न पहिलो खेलमा अमेरिका ५ विकेटले वियजी भएको थियो।
शुक्रबार अमेरिकाले दिएको १४४ रनको लक्ष्य पछ्याएको बंगलादेशले १९.३ ओभरमा सबै विकेट गुमाउँदै १३८ रन मात्रै बनाउन सक्यो।
बंगलादेशका कप्तान नजमुल हुसेन शान्तोले सर्वाधिक ३६ रन बनाए। ३४ बल खेलेका उनले २ चौका र १ छक्का प्रहार गरे।
शकिब अल हसन ३०, तौहिद हृदय २५ र तान्जिद हसन १९ रनमा आउट हुँदा अन्यको प्रदर्शन राम्रो हुन सकेन।
अमेरिकाका अली खानले सर्वाधिक ३ विकेट लिए। सौरभ नेत्रवलकर र शैडली भ्यान शल्कविकले २/२ विकेट लिँदा कोरी एन्डर्सन र जसदीप सिंहको नाममा १/१ विकेट रह्यो।
