लालिगाको उपाधि जित्ने पक्का भइसकेपछि पहिलो पटक मैदानमा उत्रिएको रियल म्याड्रिडले ग्रानाडा विरुद्ध फराकिलो जित दर्ता गरेको छ । रेलिगेशनमा परेको पक्का भइसकेको ग्रानाडा विरुद्ध रियलले ४-० को जित निकालेको हो ।
बायर्न म्युनिखलाई पराजित गरेको सुरुवाती ११ बाट १० परिवर्तन गरेको रियललाई फ्रान गार्सियाले ३८औं मिनेटमा आग्रह दिलाए । सो अग्रता आर्डा गुलेरले पहिलो हाफको इन्ज्युरी समयमा दोब्बर बनाए ।
दोस्रो हाफको ४९औं र ५८औं मिनेटमा ब्राहिम डीयाजले दुई गोल गर्दै रियलको जित सुनिश्चित गरे ।
उपाधि पक्का भएको रियलको ३५ खेलमा ९० अंक पुगेको छ । पराजित ग्रानाडाको ३५ खेलमा २१ अंक मात्र रहेको छ ।
लालिगा जितिसकेको रियल च्याम्पियन्स लिगको फाइनलमा समेत पुगिसकेको छ । रियलले फाइनलमा जुन १ मा बोरुसिया डर्टमुण्डको सामना गर्नेछ ।
