अखिल नेपाल फुटबल संघ (एन्फ) को अनुशासन समितिले ‘सी’ डिभिजन लिग क्लब आरसी ३२ फुटबल एकेडेमीमाथि फेरि कारवाही गरेको छ ।
लिग अन्तर्गत बैशाख २१ गते स्वयम्भू क्लबविरुद्ध अर्को क्लबमा दर्ता भएका खेलाडी खेलाएको भन्दै अनुशासन समितिले आरसी ३२ माथि कारबाही गरेको हो । अनुशासन समितिले उक्त खेलको नतिजा रद्दत गर्दै स्वयम्भूलाई ३-० ले विजेता घोषणा गरेको छ ।
उक्त खेलमा बबिनकै निर्णायक गोलमा आरसी ३२ १-० ले विजयी भएको थियो । यो निर्णयसँगै आरसी ३२ को तीन अंक कटौती हुने भएको छ ।
यससँगै आरसी ३२ सात खेलमा १३ अंकका साथ चौथो स्थानमा झरेको छ ।
स्वयम्भुले आरसी ३२ बाट खेलिहरकेका बबिन बोहरा र सुमनबहादुर मगर ‘बी’ डिभिजन लिगको क्लबमा दर्ता भएको भन्दै ‘प्रोटेस्ट’ हालेको थियो ।
एन्फाले बबिन श्री भगवती क्लब र समुन झापा एफसीमा दर्ता भएको जनाएको छ ।
यसअघि पनि अनुशासन समितिले सामाजिक युथ क्लबविरुद्ध पनि यी दुई खेलाडीलाई खेलाएको भन्दै आरसी ३२ लाई करवाही गरेको थियो । उक्तको खेलको पनि नतिजा रद्द गर्दै सामाजिकलाई ३-० ले विजेता घोषित गरिएको थियो
उक्त खेल गोलरहित बराबरीमा सकिएको थियो ।
यसैगरी बबिन र सुमनलाई ‘सी’ डिभिजन लिगमा प्रतिबन्ध लगाउने निर्णयलाई कायम राखिएको छ । आरसी ३२ लाई १० हजार रुपैयाँ जरिवाना पनि लगाएको छ ।
